काठमाडौं महानगरपालिका तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा नेपास् डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम ‘चर्या प्रवाह’ शनिबार सम्पन्न भएको छ।
राष्ट्रिय नाचघर, जमलमा सम्पन्न कार्यक्रममा चर्या बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्य लाई विशेष सम्मान गरिएको हो।
कार्यक्रममा गुरु बज्राचार्यले भने, ‘आजको यो वातावरणमा देवी–देवताहरूको अलौकिक उपस्थिति महसुस भइरहेको छ। यस्तो आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुन्छ। आज मैले आफ्नो जीवनको सार्थकता महसुस गरेको छु।’ उनले काठमाडौं महानगरप्रति विशेष आभार व्यक्त गर्दै मानिस भएर जन्मिएको अर्थ गहिरो रूपमा अनुभूत भएको बताए।
आयोजकका तर्फबाट कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यले जात, उमेर, वर्ग वा समुदायको कुनै भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताएन् । उनले नेपास् डान्स एकेडेमीले संस्कृति संरक्षणमा निरन्तर सक्रिय गुरु व्यक्तित्वलाई सम्मान गर्न यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै सम्पूर्ण कलाकारलाई धन्यवाद दिएकी थिइन्।
आयोजकहरूका अनुसार ‘चर्या प्रवाह’ कार्यक्रमले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०८३ ११:१३ आइतबार





