१ असार २०८३ सोमबार
image/svg+xml
समाज

समूह ‘जी’ : बेल्जियमविरुद्ध हेड-टु-हेडमा इजिप्ट अगाडि

समूह चरणको दोस्रो बहुप्रतीक्षित खेलमा सोमबार मध्यराति इजिप्टले बेल्जियमको सामना गर्दैछ।

सियाटलमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। फिफा वरीयतामा नवौं स्थानमा रहेको बेल्जियमलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन।

यता मोहम्मद सलाहबाट प्रेरित इजिप्ट भने २९औँ स्थानमा रहेको छ। टोली अहिले आफ्नो चौथो विश्वकप खेल्दैछ।

गत संस्करणमा बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो। यसपटक रुदी गार्सियाको नेतृत्वमा रहेको बेल्जियमसँग सम्भवतः ‘गोल्डेन जेनेरेसन’ बाट नतिजा निकाल्ने अन्तिम अवसर रहेको छ।

सन् २०१८ मा बेल्जियम कागजमा प्रतियोगिताकै बलियो टोलीमध्ये एक थियो। इडन हाजार्ड, केभिन डी ब्रुयना, रोमेलु लुकाकु र टिबो कोर्टुवासहितको गोल्डेन जेनेरेसन त्यतिबेला च्याम्पियन फ्रान्ससँग सेमिफाइनलमा रोकिएको थियो।

तर आठ वर्षको अन्तरालमा त्यो गोल्डेन जेनेरेसनको चमक घट्दै गएको छ। यसपटक पनि टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्न नसके एउटा सुनौलो पुस्ता खेर जानेछ। यद्यपि टोलीमा अहिले त्यस समयका ४–५ खेलाडी मात्र बाँकी छन्। यस्तो अवस्थामा बेल्जियमलाई औसत टोलीभन्दा फरक मान्न गाह्रो छ।

गत संस्करणमा बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो। त्यसपछि क्रोएसिया र मोरक्कोविरुद्ध गोल गर्न नसक्दा टोलीले चार अंकमै सीमित रहँदै समूहको तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिनुपरेको थियो।

बेल्जियमका लागि त्यो ‘अर्ली एक्जिट’ निकै पीडादायी बन्यो। किनभने क्रोएसिया अनुभवी टोली लिएर कतार पुगेको थियो भने मोरक्कोले १९९८ यता विश्वकपमा कुनै खेल जितेको थिएन।

रसिया विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम त्यसबाहेक युरोपियन च्याम्पियनसिपमा क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन।

यसपटक विश्वकप छनोटमा बेल्जियमले सम्भावित २४ मध्ये १८ अंक जोड्दै समूह विजेताका रूपमा अमेरिकाको टिकट काटेको हो। यसक्रममा टोलीले २९ गोल गर्दा ७ गोल मात्र खाएको थियो।

विश्वकपमा छनोट भइसकेपछि बेल्जियमले चार मैत्रीपूर्ण खेल खेल्यो। जसमध्ये तीन खेलमा जित निकाल्यो। अमेरिका, क्रोएसिया र ट्युनिसियाविरुद्ध जित निकालेको बेल्जियमले ती खेलमा १३ गोल गर्दा मात्र ३ गोल खाएको थियो।

इजिप्ट भने कतार विश्वकपमा छनोट हुन सकेको थिएन। रसिया विश्वकपमा टोली समूहको पुछारमा रहँदै बाहिरिएको थियो। त्यतिबेला इजिप्ट उरुग्वे, रसिया र साउदी अरेबियासँग पराजित भएको थियो।

यसपटकको छनोट प्रतियोगिता भने इजिप्टका लागि सम्झनलायक रह्यो। कुल २६ अंक जोडेको इजिप्टले एक खेल पनि हारेन। गत वर्ष अफ्रिकन कप अफ नेसन्समा टोली सेमिफाइनलसम्म पुगेको थियो।

महादेशीय प्रतियोगितापछि होस्सम हसनको नेतृत्वमा रहेको इजिप्टले पाँच खेल खेलेको छ। जसमध्ये दुई खेलमा मात्र जित हासिल गरेको छ।

इजिप्ट र बेल्जियम पाँचौँ पटक आमनेसामने हुन लागेका हुन्। पाँचमध्ये तीन खेलको नतिजा इजिप्टको पक्षमा गएको छ। पछिल्लो भेट नोभेम्बर २०२२ मा भएको थियो, जहाँ इजिप्ट २–१ ले विजयी भएको थियो।

बेल्जियमका लागि अनुभवी गोलकिपर कोर्टुवा पहिलो रोजाइबाट खेल्ने अपेक्षा गरिएको छ। उनलाई सेन्टरब्याक आर्थर थिएट र नाथन न्गोयले साथ दिने अनुमान छ। एस्टन भिल्लामा उत्कृष्ट सिजन बिताएका योरी टिलेमान्स मिडफिल्डमा देखिनेछन् भने उनलाई अमादु ओनानाले साथ दिनेछन्।

अट्याकिङ मिडफिल्डमा नापोलीबाट सन्तोषजनक सिजन नरहे पनि केभिन डी ब्रुयनाको विकल्प छैन। उनलाई जेरेमी डोकु र लियान्ड्रो ट्रोसार्डले फ्ल्याङ्कमा साथ दिनेछन्। नम्बर ९ भूमिकामा रोमेलु लुकाकु पहिलो रोजाइमा रहने सम्भावना छ।

इजिप्टका स्टार खेलाडी मोहम्मद सलाह सिजनको अन्त्यतिर ह्यामस्ट्रिङ इन्जुरीबाट प्रभावित भएका कारण पूर्ण फिट छैनन्। त्यसैले ट्रेजेगेट, ओमार मारमौश र जिजोजस्ता फरवार्डहरूले उनलाई सहयोग गर्नुपर्ने देखिन्छ।

सेन्टरब्याक जोडीमा यासिर इब्राहिम र रामी राबिया रहने सम्भावना छ भने गोलकिपरमा मोहम्मद एल शेनावी पहिलो रोजाइमा रहने अनुमान गरिएको छ।

समूह ‘जी’ अन्तर्गतको अर्को खेलमा इरानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार मंगलबार बिहान ६ः४५ बजे सुरु हुनेछ।

प्रकाशित: १ असार २०८३ १९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App