जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकताका सेवाग्राही लक्षित ‘ग्रिन टोकन’मार्फत सेवा प्रवाह थालेको छ। कार्यालयले सेवा प्रवाहमा प्राथमिकतामा राख्नुपर्ने अशक्तलगायत लाइनमा कुरेर बस्न नसक्नेलाई हरियो टोकनमार्फत सेवा दिन थालेको हो।
कार्यालयका प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक, गर्भवती, अशक्त एवं अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका बच्चाका आमा पर्नेछन्। हरियो टोकन लिएका सेवाग्राहीले सेवा लिन कुरेर बस्न नपर्ने थापाको भनाइ छ।
सेवा सुरु गरिएको केही दिनमै निकै प्रभावकारिता देखिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनले भने, 'कार्यालयमा आएर ग्रिन टोकन लिएका नागरिकले अन्य सेवाग्राही जस्तो लामो समयसम्म सेवा लिन लाइनमा बस्नु पर्दैन, लाइनमा बसेर सेवा कुर्न नसक्ने व्यक्तिलाई लक्षित गरी यस्तो प्रणाली लागू गरेका हौँ, यो सेवा प्रभावकारी बन्दैछ ।'
हाल कार्यालयमा दैनिकजसो ग्रिन टोकन लिने सेवाग्राही राष्ट्रिय परिचयपत्रका २० जना, प्रतिलिपि नागरिकताका दश जना र अन्य सेवाका दैनिक करिब चार दर्जन सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
यसैबीच गृह मन्त्रालयले सोमबार स्थानीय प्रशासन कार्यालयलाई परिपत्र गरी प्रशासनिक सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी बनाउन निर्देशन दिएको छ।
मन्त्रालयले सेवा प्रवाहमा सहयोग र सहजिकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने जो कोहीलाई निगरानी गरी कानुनबमोजिम कारबाही गर्ने व्यवस्था मिलाउन निर्देश गरेको छ ।
प्रकाशित: ३१ भाद्र २०८३ ०७:१२ बुधबार





