सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेपछि प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले खुसी व्यक्त गरेका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिष्ठानको सबै जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरेको थियो।
यसअघि मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णय बमोजिम प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो। सरकारले उक्त निर्णय सच्याउँदै जग्गा प्रतिष्ठानकै स्वामित्वमा रहने सुनिश्चित गरेको छ।
सरकारको यो निर्णयप्रति प्रतिक्रिया दिँदै प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, ‘नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहने गरी मिति २०८३ बैशाख १० गते नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो। यस निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।’
आइजिपी कार्कीले यसलाई महत्वपूर्ण र दूरदर्शी निर्णय भन्दै प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्लाई धन्यवाद दिएका छन्। उनले यस कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि नेपाल प्रहरीको संस्थागत सुदृढीकरण र प्रभावकारी सेवा प्रवाहका लागि सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त हुने अपेक्षा उनको छ।
हेर्नुस् उनको फेसबुक स्टाटस
प्रकाशित: ११ वैशाख २०८३ ०७:४२ शुक्रबार





