२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

गणेश नेपालीको मृत्युमा सरकार जिम्मेवार, निष्पक्ष छानबिन गर्न सांसद थपलियाको माग

नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। उनले नागरिक आफ्नै शरीरमा आगो लगाउन बाध्य हुनु राज्यको असफलताको संकेत भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र सरकारको जवाफदेहिता माग गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थपलियाले गणेश नेपालीको घटनाले राज्यका सेवा प्रणाली र नागरिकप्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताइन्। उनले विगतमा प्रेम आचार्यको आत्मदाहको घटना स्मरण गर्दै त्यतिबेला उठाइएका प्रश्नहरूको सन्दर्भमा वर्तमान सरकारको भूमिकामाथि पनि प्रश्न उठाइन्।

उनले सरकारले गरिब तथा श्रमजीवी वर्गका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै नागरिकले आफ्ना गुनासा राख्ने प्रभावकारी संयन्त्रको अभावका कारण चरम कदम रोज्नुपर्ने अवस्था सिर्जना भएको बताइन्। उनले राज्यले नागरिकलाई न्याय, रोजगारी र सुशासनको अनुभूति गराउन नसके यस्ता घटना दोहोरिन सक्ने चेतावनी दिइन्।

साझा यातायातका बसको रङ परिवर्तनको प्रसंग उल्लेख गर्दै सांसद थपलियाले बाहिरी परिवर्तनले मात्रै नागरिकमा सुरक्षाको अनुभूति नहुने बताइन्। "हरियो बसलाई निलो पोतेर नागरिकले सुरक्षा महसुस गर्दैनन्। सुरक्षा तब महसुस हुन्छ, जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ र सुशासन कायम गर्छ," उनले भनिन्।

सांसद थपलियाले गणेश नेपालीको घटनालाई सामान्य घटनाका रूपमा नलिन आग्रह गर्दै सरकारले सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा कुनै पनि नागरिक यस्तो अवस्थामा पुग्न नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २६ असार २०८३ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App