काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई सरकारले शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले बुधबार कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस्दै होल्डिङ सेन्टर खाली गर्न म्याद दिएको हो। प्रशासनको सूचनाअनुसार जग्गा भएको पुष्टि भएका सात परिवार भूमिहीन नरहने भएकाले उनीहरूलाई तत्काल स्थान खाली गर्न भनिएको छ।
काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त होल्डिङ सेन्टरमा बस्दै आएका परिवारलाई लक्षित गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरणका आधारमा सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको प्रशासनले जनाएको छ। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख उल्लेख गर्दै ती परिवारलाई होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको हो।
त्यस्तै, १२ परिवारको नाममा जग्गा रहेको नदेखिएको सूचनामा उल्लेख छ।
भूमिहीन नठहरिने तथा जग्गा देखिएका परिवारलाई सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढाई निस्सासमेत प्राप्त भइसकेको प्रशासनले जनाएको छ। उनीहरूलाई उक्त निस्सा बुझेर मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न भनिएको छ।
जग्गा नदेखिएका परिवारलाई भने नेपाल सरकारले घरभाडास्वरूप तोकेको सुविधा बुझिलिन प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित: ९ मंसिर २०८३ १७:४४ बुधबार




-600x400.jpg)