मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस शनिबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
सहिद लखन गाउँपालिका–३ स्थित कान्टार नजिकै बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडी सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको हो।
प्रहरी निरीक्षक राजन लम्सालले दुर्घटनामा ज्यान गुमाउनेहरूको सनाखत हुन बाँकी रहेको बताए।
बसमा कुल १४ जना यात्रु सवार रहेका थिए। ‘दुर्घटनामा ७ जनाको मृत्यु भएको छ र बाँकी ७ जना घाइते छन्,’ उनले थपे, ‘घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको छ।’
मृतकहरूको पहिचान खुलाउने र घटनाको थप अनुसन्धान गर्ने कार्य प्रहरीले अघि बढाएको छ।
प्रकाशित: ३० फाल्गुन २०८२ २१:५४ शनिबार





