समाजमा चोरी, ठगी र अपराधका घटनाहरू बढिरहेको समयमा रोल्पामा भने इमानदारिताको एउटा लोभलाग्दो उदाहरण देखिएको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
विश्वकर्माले सदरमुकाम लिवाङबाट सवारी साधनमा तेल भर्न रेउघा पेट्रोल पम्प जाने क्रममा रोल्पा नगरपालिका–२, घट्टेखोला नजिकै एउटा बट्टा फेला पारेका थिए।
उक्त बट्टाभित्र एउटा सुनको तिलहरी र नगद २७ हजार ६ सय ५० रुपैयाँ थियो। उनले उक्त सामग्री तत्कालै आफ्नो कार्यालयका प्रमुख दिनेश पोख्रेलमार्फत प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई बुझाएका थिए।
फेला परेको सुन र नगदबारे सामाजिक सञ्जाल र प्रशासनमार्फत सूचना जारी भएपछि सम्बन्धित धनी रोल्पा नगरपालिका–१०, धवाङकी दीपा रोका सम्पर्कमा आएकी थिइन्।
दीपा आइतबार बिहान गाउँबाट काठमाडौं जानका लागि सदरमुकाम लिवाङ आउने क्रममा टेम्पोमा उक्त गहना र रकम हराएकी थिइन्।
हराएको सम्पत्ति फिर्ता पाएपछि खुसी व्यक्त गर्दै दीपाले सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।
सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, जिल्ला प्रहरी प्रमुख वीरेन्द्रवीर विश्वकर्मा र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख दिनेश पोख्रेलको रोहवरमा उक्त गहना र नगद दीपालाई हस्तान्तरण गरिएको छ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी क्षेत्रीले अनुसन्धान सहायक बाबुराम विश्वकर्माको इमानदारिताको उच्च प्रशंसा गरे। ‘समाजमा यस्ता सत्कर्म गर्ने मानिसहरूले नै मानवता बचाइराखेका छन्,’ प्रजिअ क्षेत्रीले भने, ‘बाबुरामजीको यो कार्यबाट अरूले पनि इमानदारिताको पाठ सिक्नुपर्छ।’
प्रकाशित: १५ मंसिर २०८२ १०:४४ सोमबार

