विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ।
सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।
विश्व भोकमरी सूचकांकको सन् २०२६ को प्रतिवेदनअनुसार नेपालले १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ थियो। पछिल्लो तथ्यांकले नेपालमा भोकमरीको अवस्था सुधार हुँदै गएको देखाउँछ। यद्यपि, पोषण र खाद्य सुरक्षाका क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यकता छ।
प्रतिवेदनअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दर घटेको छ। सन् २००० मा पाँच वर्षमुनिका ५५.९ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएकोमा सन् २०२६ को सूचकांकमा यो दर घटेर २६.२ प्रतिशतमा झरेको छ। यस अवधिमा पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको हो।
नेपालको भोकमरी सूचकांक चार प्रमुख सूचकका आधारमा गणना गरिएको छ। यसमा अपर्याप्त क्यालोरी सेवन गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या, उचाइअनुसार तौल कम हुने समस्या र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु समावेश छन्।
दक्षिण एसियामा श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ। नेपाल १४.५ अंकसहित ७२औँ स्थानमा रहँदा बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन्। अफगानिस्तान १०८औँ स्थानमा रहेको छ।
विश्व भोकमरी सूचकांकमा अंक कम हुनु भोकमरीको अवस्था तुलनात्मक रूपमा राम्रो हुनु हो। सन् २०२६ को प्रतिवेदनमा विश्वको औसत अंक १८.१ रहेको छ भने दक्षिण एसियाको क्षेत्रीय अंक २३.५ छ। यसले दक्षिण एसियामा भोकमरी र कुपोषणको समस्या विश्वको औसतभन्दा गम्भीर रहेको देखाउँछ।
प्रकाशित: ७ कार्तिक २०८३ १४:०० शनिबार





