ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको १९ वर्ष पूरा भएको छ। उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी मंगलबार जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारणा, फोटोमा माल्यार्पण र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा का.जि.अ. वार एशोसियसनका निवर्तमान अध्यक्ष आरसी विमल, अधिवक्ता अर्जुन चालिसे, अधिवक्ता राजकुमार उप्रेती, समाजसेवी सनत कुमार गिरी, युरेसन योङ्गे सुब्बा, शिव खत्री, तुलसीराम पराजुली, विशेष अतिथिको रूपमा रहेका थिए।
जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडाैंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको सालिक स्थापना गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले पर्याप्त रकम विनियोजन नगरेका कारण केही वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले जुन प्रगति गर्नुपर्ने हो त्यसो हुन नसकेको कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराए।
विसं २०६३ असोज ७ गते भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए। विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजङ्गा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो।
प्रकाशित: ८ आश्विन २०८२ ०७:५५ बुधबार





