खोटाङका जेनजेड पुस्ताका युवाहरुले दशैँ तिहारमा विभिन्न ठाउँका छोरीचेलीलाई निःशूल्क याताायत सेवा प्रदान गरेका छन् । दशैं तिहारमा छोरीचेलीलाई निःशूल्क यातायात उपहार’ अभियानमार्फत् युवाहरुले यसवर्षको दशैंमा साढे ४ सय जनालाई यातायात सेवा दिएका हुन् ।
नेपाल कराते महासङ्घ, खोटाङका अध्यक्ष सञ्जयकुमार राईको अगुवाईमा सदरमुकाम तथा आसपास विभिन्न स्थानीयतहका युवाहरुको समूहले आफ्नै मोटरसाईकलमार्फत निःशूल्क यातायात सेवा प्रदान गरेका हुन् । आफ्नै मोटरसाईकलमार्फत छोरीचेलीहरुलाई घरदेखि माईतीघर र माईतीघरदेखि घरसम्म तथा मावलीघरसम्म लाने फर्काउने सेवा दिएका हुन् ।
अभियान टोली संयोजक राईका अनुसार दशैं तिहारको मौकामा आर्थिक अभाव तथा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारी साधन भरिभराउ हुदा भनेजस्तो सीट नपाउँदा माईत मावल जान कठिनाई नहोस् भनेर अभियान चलाइएको हो । संयोजक राईले दशैं टीकाको दिन असोज १६ देखि १९ गतेसम्म विभिन्न ४ सय ३६ जना छोरीचेलीलाई मोटरसाईकलमार्फत निःशूल्क यात्रा गराइएको बताए ।
सदरमुकाम दिक्तेल रुपाकोट मफुवागढी र हलेसी तुवाचुङ नगर तथा दिप्रुङ चुईचुम्मा, केपिलाशगढी र रावाबेँसी गाउँपालिकाका ३५ किलोमिटर दुरीभित्रका छोरीचेलीलाई माईत मावल र घर फर्काउने सेवा दिइएको राईले बताए । अभियानमा जोडिएका ७ दर्जन युवाले ६६ वटा मोटरसाईकल र शुभम फाउण्डेसनको एउटा चारपाङ्ग्रे जीपमार्फत् सेवा दिएका हुन् ।
यसवर्ष अभियान चलाउन जनसम्पर्कका लागि सचिवालय नै स्थापना गरेको राईले बताए । मौसम खराव तथा सबै ठाउँमा मोवाईल टावर नलाग्ने भएकाले सम्पर्कका लागि सचिवालय खोलेर सेवा प्रदान गरिएको हो ।
छोरीचेलीहरुलाई माईत मावल ल्याउन पुर्याउन सचिवालय भए फोन सम्पर्क गरेर बोलाए युवाहरु मोटरसाईकल लिएर उनीहरुले भनेकै ठाउँमा पुगेर गन्तव्य पुर्याउने ल्याउने गरेका थिए । जसका लागि दिक्तेलको किँरातचोकमा सचिवालय खोलेर जनसम्पर्क गराई दिक्तेल, हलेसी, केपिलासगढी, दिप्रुङ र सावाबेँसीमा सम्पर्कस्थान तोकेर सेवा प्रवाह गरिएको हो ।
टीम दिक्तेलबाट २ सय ५ जनालाई मोटरसाईकल र ९० जनालाई जीपबाट सेवा प्रदान गरिएको छ । टीम हलेसीका संयोजक रम्बोहाङ राईले हलेसीबाट विभिन्न ठाउँसम्म २३ जनालाई मोटरसाईकलमै सेवा दिइएको बताएका छन् । उता केपिलासगढी टिम संयोजक सविन थुलुङका अनुसार त्यहाँबाट ७५ जनाले सेवा पाएका थिए भने दिप्रुङ टिमबाट २१ जनालाई निःशूल्क यात्रा गराइएको संयोजक आदेश थापाले बताए । रावावेँसीबाट २२ जनाले सेवा पाएको संयोजक विशाल राईले बताएका छन् ।
सचिवालय सदस्य तथा हलेसी टिम संयोजकसचिवालयले सेवाग्राहीको विवरण सङ्कलन गरेर सेवा प्रवा गरेको बताए । त्यस्तै दिप्रुङमा आदेश थापा, रावाबेशीमा बिशाल राई र केपिलासगढीमा सबिन थुलुङले संयोजन गरेका थिए ।
पहाडी भूगोल, कच्ची र वर्षायाममा बिग्रे भत्केर जर्जर भएका सडकमा सबैतिर सार्वजनिक गाडीहरु पुग्न नसक्दा छोरीचेलीहरुलाई माईत मावल गर्न गाह्रो भएकाले यस्तो अभियान सञ्चालन गरेको युवाहरुको भनाई छ । चाड पर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएको संयोजक राईले बताएका छन् ।
युवाहरुले गतवर्षको तिहारदेखि यस्तो अभियान थालेका हुन् । गतवर्षको तिहारमा सुरुमा राई एक्लैले यो अभियान थालेका थिए । केहीदिनपछि दुईजना युवाहरुले उनलाई साथ दिए । यसवर्ष भने सचिवालय नै स्थापना गरेर बृहत रुपमा अभियान चलाउन खोज्दा डेढदर्जन युवाहरु खुलेर सहयोग गर्न राजी भएको उनले बताए ।
सो टिमले तिहारलक्षित अभियान पनि चलाउने जनाएको छ । आउँदो कात्तिक ५ गतेदेखि ७ गतेसम्म यही टिमले छोरीचेलीलाई निःशूल्क यातायात सेवा अभियान चलाउने तयारी गरिरहेको छ । यसवर्षको दशैं र तिहारमा गरि १ हजार जना छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य उनीहरुको छ । गतवर्षको दशैं तिहारमा ५ सय जनालाई सेवा दिइएको संयोजक राईले बताएका छन् ।
प्रकाशित: २२ आश्विन २०८२ १८:५० बुधबार





