९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

देशभर सम्मेलनको माग राखेर माइतीघरमा जेन-जीको धर्ना

जेन-जीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेन-जी सम्मेलन गर्न माग गरेको छ। जेन-जीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतीघरमा धर्ना दिने क्रममा उनीहरूले सबै जिल्लामा जेन-जी सम्मेलन र काठमाडौंमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे।  

उनीहरूले आफूहरू एकजुट हुँदै एकता र समर्पण खोजिरहेको बताए। यो समयमा कुनै पनि गुटबन्दी र विभाजन आफूहरूलाई सह्य नभएको बताउँदै उनीहरूले सबै जिल्लामा जेन-जी सम्मेलन आयोजना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।  

‘सबै जिल्लामा जेन-जी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेन-जी सम्मेलन आयोजना गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेन-जीको प्रतिनिधित्व हुनेछ,’ जेन-जी प्रतिनिधि सदिक्षा राईले भनिन्, ‘सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ।’  

उनले वर्तमान सरकार केवल नेताहरूको नभई जनता र सहिदको सपना बोकेको सरकार भएको बताइन्। ‘यो सरकार सहिदहरूको बलिदानबाट जन्मिएको हो, सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्छ,’ उनले भनिन्।  

राईले वर्तमान सरकार जेन-जी पुस्ताको पनि अभिभावक भएको बताइन्। उनले सरकार पारदर्शी हुनुपर्ने उल्लेख गर्दै मुलुक संकटमा परेको अहिलेको समयमा एकता र सहकार्य महत्वपूर्ण भएको धारणा राखिन्।  

धर्नामा सहभागी मदन कार्कीले जेन-जीका नाममा विभिन्न पार्टी वा समूहमा लागेर विभाजन नहुन आग्रह गर्दै देशभरका जेन-जीहरू एकजुट हुन आह्वान गरे। ‘मुलुकभरका सबै जेन-जीहरू एकजुट हुन आवश्यक छ, यसका लागि सरकारले हामीलाई सहयोग गर्नुपर्छ, जेन-जी एकजुट हुन सरकारको साथ आवश्यक छ,’ जेन-जी आन्दोलनका घाइतेसमेत रहेका कार्कीले भने।  

धर्नामा सहभागीहरूले ‘जेन-जीका माग पूरा गर’, ‘सहिदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’, ‘सहिदहरूको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’ लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए। धर्नामा जेन-जी आन्दोलनका घाइते, सहिद परिवारको पनि सहभागिता थियो।  

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले धर्ना दिएका हुन्। रासस

प्रकाशित: ७ कार्तिक २०८२ १६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App