३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

जेन-जी प्रतिनिधिहरूले भने- देशलाई रक्तपात पुगिसकेको छ, थप चाहँदैनौं

जेन-जीका प्रतिनिधिहरूले आगामी दिनमा कुनै पनि प्रदर्शनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्। उनीहरुले आन्दोलनको नाममा फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरे।

मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूले यस्तो बताएका हुन्।

‘हामीले कुनै पनि तरिकाले बाटोमा उत्रेर कार्यक्रम गर्ने वा आन्दोलन गर्ने कुनै योजना बनाएका छैनौँ। केही समूहले भ्रम फैलाइरहेका छन्, त्यस्ता कुराहरूमा विश्वास नगर्न आग्रह गर्दछाैं। हाम्रो देशलाई रक्तपात पुगिसकेको छ, हामीलाई चाहिनेभन्दा बढी रक्तपात भइसकेको छ। हामी कुनै पनि हिसाबले फेरि रक्तपात सुरु गर्न चाहँदैनौँ।’ एक प्रतिनिधिले भने।

उनीहरूले घरमा बसिरहेका सबैलाई शान्तिपूर्ण रूपमा बस्न र कानुनलाई आफ्नो काम गर्न दिन आग्रह गरेका छन्। ‘केही समयका लागि जबसम्म देशमा शान्ति सुरक्षा कायम हुँदैन, तबसम्म तपाईंहरू घरमा आनन्दले बसिदिनुहोस्।’ उनले भने।

उनीहरूले यदि कसैले जनतालाई भड्काउने प्रयास गर्छ भने, त्यस्ता व्यक्तिहरू देशद्रोही हुने समेत बताए। उनीहरूले आफ्नो कुनै पनि असन्तुष्टि वा माग भएमा सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण रूपमा व्यक्त गर्ने तर सडकमा प्रदर्शन नगर्ने स्पष्ट पारे।

अर्का एक प्रतिनिधिले भने, ‘हाम्रो आन्दोलन अझै सकिएको छैन, तर हामीले न्याय पाउनका लागि अनावश्यक आन्दोलनमा संलग्न हुनु हुँदैन।’

उनीहरूले सरकारले गरिरहेको कामलाई समर्थन गर्न र सबैलाई संयमित रहन आग्रह गरेका छन्।

प्रकाशित: २१ आश्विन २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App