२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन।

ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन्।

अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन्।

ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन्।

गृहलक्ष्मी ग्यास कम्पनीले गत आवको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर बिक्री गरेकामा यस वर्ष साउन २५ गतेसम्म ४७ हजार सिलिन्डर पोखरा पठाइसकेको जनाएको छ।

विगतको तुलनामा बढी ग्यास बजारमा पठाइए पनि उपभोक्ताको लाइन भने घटेको छैन।

गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउन ग्यासको खपत कम हुने समय भए पनि यस वर्ष गत वर्षको तुलनामा बढी सिलिन्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास भण्डारण गर्नु रहेको बताए।

‘साउनमा ग्यासको खपत सामान्यतया कम हुन्छ। तर यस वर्ष गत वर्षभन्दा बढी सिलिन्डर बजारमा गए पनि अभाव हटेको छैन। चाडपर्व नजिकिँदै गर्दा पछि अभाव हुन्छ कि भन्ने चिन्ताले उपभोक्ताले खाली सिलिन्डरसमेत भरेर राख्दा अहिले समस्या देखिएको हो’, उनले भने।

सरकारले मध्यपूर्वको तनावपछि ग्यास आपूर्तिलाई व्यवस्थापन गर्न करिब चार महिनासम्म बजारमा आधा सिलिन्डर ग्यास पठाउने निर्णय गरेको थियो।

आधा सिलिन्डर बिक्री हुँदा बजारमा सहज अवस्था रहे पनि पूरा सिलिन्डर बिक्री सुरु भएपछि माग एक्कासी बढेको लामिछानेले बताए।

‘आधा सिलिन्डर आउँदा अभाव थिएन। उपभोक्तालाई चाहिएको समयमा ग्यास पाइन्छ भन्ने विश्वास भएकाले धेरै मौज्दात पनि गर्नुभएको थिएन। तर पूरा सिलिन्डर आउन थालेपछि उपभोक्ताले ग्यास भण्डारण गर्न थाले’, उनले भने। पोखरामा गृहलक्ष्मीसहित, शक्ति, बाबा, जानकीलगायतका ग्यास कम्पनीका सिलिन्डर बिक्री हुँदै आएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले १४.२ केजीको पूरा सिलिन्डर वितरण सुरु भएपछि देशभर ग्यासको माग एकैपटक बढ्दा बजारमा केही असहजता सृजना भएको बताए।

बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने गरी काम भइरहेको उनले जानकारी दिए।

उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरे।

प्रशासनले ग्यास आपूर्ति सहज बनाउन र उपभोक्ताको सास्ती कम गर्न पछिल्लो समय किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ।

‘ग्यास आइरहेको छ। आज पनि पोखरामा जानकीले तीन हजार ५०० सिलिन्डर पठाउँदैछ। बजारमा त्यस्तो अभाव हुनुपर्ने अवस्था होइन। मौज्दातका कारण समस्या देखिएको हो’, बरालले भने।

प्रशासनले जिल्लामा पर्याप्त एलपी ग्यास आपूर्ति सुनिश्चित गर्न जिल्लाभित्र र बाहिर रहेका ग्यास उद्योग तथा नेपाल आयल निगमसँग समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App