७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बढ्न थाल्यो ग्यासको अभाव: धमाधम बन्द हुँदैछन् भक्तपुरका ग्यास पसल

ग्यास अभाव हुन थालेपछि भक्तपुरका ग्यास पसल बन्द हुन थालेका छन् ।  

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा शुक्रबार गरेको ग्यास पसलहरुको अनुगमनको क्रममा पसल बन्द रहेको भेटिएको हो । शुक्रबार नगरका भुलांचा, गपली, सल्लाघारीमा अनुगमन भएको थियो । अनुगमनको क्रममा  टोली १९ ग्यास पसलहरुमा पुगेको थियो ।  

अनुगमनमा संलग्न भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले अनुगमनको क्रममा अधिकांश ग्यास पसलहरु ग्यास अभावमा बन्द रहेको पाइएको बताए ।  

अनुगमनमा तलेजु ट्रेडर्समा हिमाल, गीता र श्रीमाया ग्यास बिक्री डिपोमा सम्बन्धित प्रोपाइटर नभएकोले दर्ता प्रमाणपत्र कागजातसहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दिएको थियो । त्यस्तै विष्णु चवालको ग्यास पसलमा सागर ग्यासको विक्री डिपोमा सम्बन्धित प्रोपाइटर नभएकोले दर्ता प्रमाणपत्र कागजातसहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो ।  

त्यस्तै बस्नेट ट्रेडर्समा डिपोबाट समयमा ग्यास प्राप्त नभएको गुनासो गरेको छ भने एसपी खाद्य स्टोरमा श्रीमाया र गीता ग्यास बिक्री गरेकोले ग्यासको छुट्टै दर्ता गर्न र खाद्य पसल नवीकरण गर्न निर्देशन दियो । त्यस्तै पीके खाद्य स्टोरमा हिमाल ग्यास विक्री पसल बन्द भएकोले दर्ता प्रमाणपत्र कागजातसहित नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो । त्यस्तै प्रणय स्टोरमा ग्यासको छुट्टै दर्ता गर्न निर्देशन दियो । त्यस्तै काभे्र किराना पसलमा हिमाल र श्रीमाया ग्यास विक्री गरेकोले ग्यासको छुट्टै दर्ता गर्न र पसल नविकरण गर्न निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

नगरपालिकाले पछिल्लो दिनहरुमा ग्यास अभाव भएकाले ग्यास पसलहरुको अनुगमनलाई तीव्रता दिएको छ । यसअघि बिहीबार पनि नगरका विभिन्न ठाउँहरुमा अनुगमन गरिएको थियो ।

टोलीमा अनुगमन समितिका सदस्य एवं वडा सदस्य ज्ञान बहादुर मानन्धर, सूर्य प्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, भनपा श्यानिटेश उपशाखा प्रमुख दीलिप कुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक कमल कुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्जका लक्ष्मी थापा, भक्तपुर उद्योग वाणिज्य संघका राजु त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुलाको सहभागी थिए ।

प्रकाशित: ६ चैत्र २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App