२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

बिनाप्रमाण दोषी देखाएको भन्दै आपूर्तिमन्त्रीको अभिव्यक्तिमा ग्यास उद्योगी आक्रोशित

नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले उद्योगीहरूप्रति दिएको अभिव्यक्तिलाई लिएर संघले कडा आपत्ति जनाएको हो।

संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले विज्ञप्तिमा जारी गर्दै अभिभावक जस्तो व्यक्तिबाट गैर लोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

प्राकृतिक विपत्तिका बेला रातदिन खटिएर आपूर्ति सहज बनाउन लागिपरेका उद्योगीहरूलाई बिना प्रमाण दोषी देखाइनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ।

संघले ग्यास अभाव हुनुमा उद्योगीको बदनियत नभई प्राविधिक र व्यावहारिक कारण रहेको दाबी गरेको छ। आधा सिलिन्डरको असर, मागमा अचानक वृद्धि, पृथ्वी राजमार्ग अवरुद्ध लगायतका कारणले ढुवानी प्रभावित भएको संघले जनाएको छ।

ग्यास उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुन बमोजिम कारबाही गर्न सरकारलाई पूर्ण सहयोग गर्ने संघको भनाइ छ।

संघले भनेको छ,‘यस्तो विषम परिस्थितिमा कुनै उद्योगबाट बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुन बमोजिम कारबाही हुनु पर्नेमा यस संघ सदैव सम्बन्धित निकाय सँगै रहेको छ तर बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाई भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक छ।’

संघले उपभोक्तालाई सहज रूपमा ग्यास पुर्‍याउन सरकार र आयल निगमसँग सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको भन्दै उपभोक्ता तथा सरोकारवाला निकायहरूलाई सहयोगका लागि अपिल समेत गरेको छ।

प्रकाशित: २५ भाद्र २०८३ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App