४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

तीन वर्षीय बालिका माथिको क्रुर व्यवहारले नित्याएको विद्रोह: अर्को घटना नदोहोरियोस् !

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीलाई कारबाही गर्नुपर्ने र घटनाको दोषीलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरू इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरी रहेकोले तनाव उत्पन्न भएको हो।

सिमरामा देखिएको तनाव कम गर्नको लागि पीडित परिवार र स्थानीयहरूसँग वार्ताको प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जनाए।

बालिकालाई बलात्कार गरेर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

हत्याको विरुद्धमा आक्रोशित बनेका स्थानीयहरूले मुख्य राजमार्ग देखि ग्रामीण सडक अवरुद्ध गरेर दुई दिन देखि प्रदर्शन गरिरहेका छन्।

वीरगन्ज –पथलैया औद्योगिक मार्गको सिमरा, सिमरा–डुमरवाना सडक खण्ड, पिलुवा–वडहर्वा सडक खण्डलाई पूर्ण रूपमा यातायात ठप्प गरेर उनीहरू प्रदर्शन गरिरहेका छन्।

हत्याको विरुद्धमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरूले बिहीबार शोक सभा गरेर विद्यालय बन्द गरेका छन्।

तीन वर्षीया बालिकामाथि भएको क्रूर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले विज्ञप्ति प्रकाशन गरेर घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्।

आन्दोलनमा उत्रिएका पीडित परिवारका सदस्यले भनेका छन्, ‘यो तीन वर्षीय बालिका माथिको क्रुर व्यवहारले नित्याएको विद्रोह हो । हामी न्यायको खोजीमा छौँ ।  दोषीलाई हदैसम्मको कारबाही होस् । जुन कारबाहीले यस्तो अर्को घटना फेरि नदोहोरियोस् ।’

पीडित परिवार र स्थानीयले बिहीबार बिहानै देखि उपमहानगरपालिकामा पर्ने राजमार्ग र भित्रका ग्रामीण सडकहरूमा समेत टायर बालेर प्रदर्शन गरिरहेका छन्। यसअघि बुधबार दिउँसोबाट बन्द रहेको वीरगन्ज–पथलैया सडक खण्डमा यातायात चल्न सकेको छैन।

प्रहरीले समयमै खोज तलास नगरिदिएको कारणले छोरीलाई बचाउन नसकिएको मृतक गरिमा चौधरीका बुवा मनोज चौधरीले बताए।

गरिमाको खोजीमा इलाका प्रहरी कार्यालयले गम्भीर लापरबाही गरेको उनले आरोप लगाए। छोरी हराएको बेला नै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको भए पनि खोजीमा गम्भीरता नदेखाएको उनले बताए।

प्रकाशित: ४ भाद्र २०८३ १७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App