मिडिया स्पेस सोलुसन्स प्रा. लि., एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा. लि. को संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।
नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्। प्रदर्शनीले उद्योग, व्यापार तथा प्रविधिबीच सहकार्य अभिवृद्धि गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले विशेष भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ। साथै, ऊर्जा तथा विद्युतीय व्यवसायसँग सम्बन्धित नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रदर्शनमार्फत उद्योगी, व्यवसायी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक तथा सम्बन्धित सरोकारवालाहरूलाई एउटै व्यावसायिक प्लेटफर्ममा ल्याई ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ। यसबाट विद्युत् तथा विद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवर्द्धन, व्यापार विस्तार तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। उद्योगमैत्री वातावरण निर्माण, नवप्रवर्तनको प्रवर्द्धन तथा निजी क्षेत्रबीच सहकार्य विस्तारमा समेत प्रदर्शनी महत्वपूर्ण बन्ने विश्वास लिइएको छ।
प्रदर्शनीमा नेपाली उत्पादनसँगै बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणालीलगायत विद्युत् तथा इलेक्ट्रोनिक्स क्षेत्रसँग सम्बन्धित विविध उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गरिनेछन्।
निःशुल्क प्रवेश रहने यस प्रदर्शनीमा देशभित्र तथा बाहिरबाट आमन्त्रित अतिथि, उद्योगी–व्यवसायी, सरकारका उच्च अधिकारी, आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मी, नेपालभरका विद्युतीय व्यवसायी, मिडियाकर्मी, विद्यार्थी एवं आम सर्वसाधारण गरी ३०,००० भन्दा बढी आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहयोगी संस्थाका रूपमा नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) रहेका छन्।
आयोजकका अनुसार, प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउँदै सम्बन्धित क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ भाद्र २०८३ १६:४० बिहीबार





