८ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

गरिमा चौधरी हत्या प्रकरण : भिडियो सार्वजनिक पछि अनुसन्धानमाथि प्रश्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ। 

आइतबार साँझदेखि सामाजिक सञ्जालमा फैलिएको भिडियोमा हतकडी लगाइएका नाबालकले चिकित्सकसँग घटनाबारे विभिन्न विवरण बताइरहेको देखिन्छ। उनले गरिमाको बलात्कार र हत्यामा आफू मात्रै नभई ‘प्रदीप खड्का’ नाम गरेका अर्का व्यक्तिको समेत संलग्नता रहेको बताएका छन्। 

नाबालकले आफूलाई प्रदीपले उक्साएको र उनकै योजनाअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर घरभित्र लगेको बताएका छन्। बालिकामाथि दुवैजनाले आपराधिक गतिविधि गरेको र बालिका बेहोस भएपछि प्रदीप त्यहाँबाट भागेको उनको दाबी छ। त्यसपछि आफूले बालिकालाई डोरीले बाँधेर तन्नामा बेरेको र घरमा चुकुल लगाएर हिँडेको उनले बताएका छन्। 

भिडियोमा नाबालकले गरेको दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन। प्रहरीले अहिलेसम्म प्रदीप खड्काको संलग्नताबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। प्रहरीले घटनामा नाबालकसँगै २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। 

बाराका प्रहरीका अनुसार उक्त भिडियो कलैया अस्पतालमा खिचिएको जस्तो देखिएको छ। पक्राउपछि नाबालकलाई स्वास्थ्य परीक्षणका लागि कलैया अस्पताल लगिएको थियो। सोही क्रममा चिकित्सकले घटनासम्बन्धी कुराकानी गरेको बताइएको छ। 

कलैया अस्पतालले भिडियो सार्वजनिक भएको विषयमा आन्तरिक रूपमा खोजी गरिरहेको जनाएको छ। अस्पतालको लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले नाबालकसँग घटनासम्बन्धी कुराकानी गरेको बताइएको छ। 

भिडियोमा नाबालकसँगै प्रहरी र अस्पतालका कर्मचारीसमेत देखिन्छन्। ओसीएमसीमा भएको कुराकानी कसले रेकर्ड गर्‍यो र भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने अझै खुलेको छैन। 

संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा लिइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको अनुसन्धान प्रोटोकलमाथि समेत प्रश्न उठेको छ। बालबालिका संलग्न गम्भीर अपराधमा अभियुक्तको पहिचान तथा गोपनीयता संरक्षण गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत भिडियो सार्वजनिक भएको भन्दै आलोचना भइरहेको छ। 

नेपाल प्रहरीले संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा संकलन भएका अडियो तथा भिडियो सामग्री सार्वजनिक नगर्ने बताउँदै आएको छ। बालबालिका संलग्न घटनामा उनीहरूको पहिचान गोप्य राख्नुपर्ने व्यवस्था पनि छ। 

गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकैको एक घरमा उनको शव फेला परेको थियो। शव भेटिएकै दिन प्रहरीले जीतपुरसिमरा २ का १६ वर्षीय नाबालकलाई पक्राउ गरेको थियो। 

बलात्कार र हत्या जस्तो जघन्य घटनामा अभियुक्तको बयान तथा भिडियो सामाजिक सञ्जालमा छरपस्ट बनाउनु आपत्तिजनक छ।  

प्रकाशित: ८ भाद्र २०८३ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App