२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

उपाध्यक्षबाट पंक्षीपालक बनिन् गंगा

पुस महिना बिहानकाे चिसो हावा अझै शरीर छेड्ने बेला हुन्छ। जुम्लाको तातोपानी-४ को एउटा फराकिलो आँगनमा भने जीवनको छुट्टै चहलपहल देखिन्छ। कालिजको करकर, कुखुराको कुकुरुक्क र हाँसको स्वरबीच गंगा उपाध्यायकाे दिनचर्या सुरू हुन्छ।

हातमा दाना, आँखामा निगरानी र मनमा धैर्य यिनै उनका दैनिकी हुन्। पहिले सभासमारोहमा व्यस्त देखिने उनी आज पंक्षी फार्ममा पसिना बगाउँदै छिन्।

तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगाको यो यात्रा सामान्य पेशागत परिवर्तन होइन। यो राजनीति, समाज र आत्मनिर्भरता बीचको गहिरो संवाद हो। “पद थियो, प्रतिष्ठा थियो,” उनी भन्छिन्, “तर हातले केही सिर्जना गरेको सन्तुष्टि थिएन।”

गंगाले राजनीति सुरु गर्नुअघि व्यवसाय गर्ने सोच बोकेकी थिइन् तर समय, जिम्मेवारी र सामाजिक अपेक्षाले त्यो सपना त्यत्तिकै थन्कियाे। उपाध्यक्ष भइसकेपछि भने उनलाई झन् स्पष्ट भयो, राजनीति मात्र जीवन होइन। “राजनीति जनतासँग जोडिने माध्यम हो तर जीविकोपार्जनको भर राजनीति मात्र हुन सक्दैन,” उनी भन्छिन्।

यूट्युबमा पंक्षीपालन सम्बन्धी सामग्री हेर्दै गर्दा कालिज पालनले उनलाई तान्यो। जोखिम थियो, जुम्ला जस्तो चिसो भेग, बजार अनिश्चित, अनुभव शून्य तर निर्णय पक्का थियो।

२०७८ मंसिरमा दियालो बहुद्देश्यीय सहकारी संस्थाबाट ६ लाख रुपैयाँ ऋण लिएर उनले दाङ, लमहीबाट २ सय ५० कालिज ल्याइन्। बाटो र मौसमसँग जुध्दै जुम्ला आइपुग्दा प्रतिकलिज करिब ४ हजार रुपैयाँ खर्च परिसकेको थियो। गाउँलेको प्रतिक्रिया कठोर थियो।

“गाउँपालिका उपाध्यक्षले कालिज पाल्छिन्?” भन्ने व्यंग्य र अविश्वासले उनीलाई घेरेको थियो।

लाज मानेर कतिपयले त छोड्न सुझाएका थिए। “त्यतिबेला सबैभन्दा गाह्रो सामाजिक दबाब थियो,” उनी सम्झन्छिन्, “तर म आफूलाई प्रमाणित गर्न चाहन्थें।”

अनुभव नहुँदा रोग, मर्न थालेका पंक्षी र बजार नपाएको पीडाले उनीलाई पटकपटक हल्लायो। अन्य किसानले ‘धेरै दुःख हुन्छ’ भन्दै पन्छिन सुझाए तर बाल्यकालदेखिको पंक्षीमोहले उनलाई रोक्न दिएन।

२०८० सालसम्म आइपुग्दा उनको फार्ममा १ हजार २ सय कालिज थिए। बारीभरि फैलिएको करकर र चहलपहलले उनीभित्र आत्मविश्वास थप्यो। “त्यो आवाज मेरो संघर्षको प्रमाण थियो,” उनी भन्छिन्।

सुरुमा बजार कब्जा गरिसकेको बोयलरकाे सस्ताे मासुले कालिजको मूल्य दबाएको थियो तर विस्तारै उपभोक्ताको स्वाद फेरियो। शुभकार्य, संस्कार र पाहुनाको सम्मानमा कालिजको माग बढ्दै गयो। आज ग्राहकहरू फार्म खोज्दै आइपुग्छन्। सेना, प्रहरी र कर्मचारी उनका नियमित ग्राहक हुन्।

हाल उनीसँग १ सय ४० भन्दा बढी कालिज, ३ सयभन्दा बढी स्थानीय जातका कुखुरा र ५० भन्दा धेरै हाँस छन्। पोथी कालिज २ हजार र भाले ३ हजार रुपैयाँमा बिक्री हुन्छ।

स्थानीय कुखुराको मूल्य पनि उस्तै छ। ३ हजार ७ सय वर्गमिटर क्षेत्रमा फैलिएको उनको फार्म जिल्लाकै ठूलोमध्ये पर्छ। २ करोडभन्दा बढी लगानी भइसकेको छ। “अहिले त पंक्षीमा लाग्ने रोग आफैं चिन्न र उपचार गर्न सक्छु,” उनी भन्छिन्।

कर्णाली प्रदेशबाट उत्कृष्ट कृषक पुरस्कारले सम्मानित भइन्। उनको फार्म अवलोकन गर्न वार्षिक कम्तीमा १ सय ५० जनाभन्दा बढी पुग्छन्। धेरै किसान यहीँबाट कुखुरा र कालिजका चल्ला लिएर नयाँ यात्रा थाल्दै छन्।

छ जनाको परिवार छ गंगाको। उनले ‘गौतम पशुपन्छी पालन फार्म’ दर्ता गरिरहेकी छन्। हरेक दिन १० देखि पाँच बजेसम्म उनी कालिजको हेरचाहमै रमाउँछिन्। ’कालिज पालनका लागि जुम्ला उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँ हजारौंको संख्यामा कालिज पालन गरेर आन्तरिक तथा ग्रामीण पर्यटनलाई टेवा पुयाउन सकिन्छ।

दुई छाेरी एक छाेरा र सासू आमा छिन्। गंगाले भनिन्, जेठी छोरी अमेरिका नर्सिङ पढ्दै छिन्। माइली छोरी नेपालगन्ज र कान्छो छोरा जुम्लाकाे खलंगाको एसिया बाेर्डिङमा पढ्दै छन्।

पंक्षीपालनबाट वार्षिक करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। खर्च धेरै भए पनि सन्तुष्टि ठूलो छ। यता पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाका अनुसार जुम्ला जस्तो चिसो भूगोलमा कालिज पालन गरेर गंगाले सम्भावनाको ढोका खोलेकी छन्। “उनले अरू किसानलाई आत्मनिर्भरताको बाटो देखाएको छ,” उनी भन्छन्।

जुम्लामा पालिएको कालिजको मासुको गुणस्तर र स्वाद निकै फरक हुने बताउँछन्। यहाँ जंगलमा पाइने कालिजभन्दा यहीं हुर्केको कालिजको मासु स्वादिलो भएको पाइयो। कालिजको मासु, सेकुवा, सुप लगायतका परिकार बनाइन्छन्।

यो व्यवसाय गंगाका लागि आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मान, श्रम र वैकल्पिक राजनीतिक संस्कारको अभ्यास हो। सत्ता सकिएपछि पनि समाजमा उभिन सकिने उदाहरण बनेकी गंगा आज जुम्लामा पूर्वउपाध्यक्ष मात्र होइनन्, आत्मनिर्भरताकाे प्रतीक बनेकी छन्।

प्रकाशित: ३ पुस २०८२ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App