२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

काठमाडौंमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बूका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले गत चैत १२ गते, १९ गते र वैशाख ६ गते विभिन्न ठाउँमा पुगेर सुन लुटपाट गरेको घटनाको अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकासँग १२.९० ग्राम सुन, पेचकस एक थान, ठूलो रेन्ची एक थान, सानो रेन्ची आठ थान, मोबाइल एक थान, खुकुरी एक थान, हुडी, ट्राउजर, ज्याकेटलगायतका सामग्री बरामद गरेको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–४ पैँयुटारबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: १४ वैशाख २०८३ २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App