२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

गणेश मृत्यु प्रकरण: महानगरका तीन प्रहरी पक्राउ, घटना छानबिन गर्न समिति गठन

गणेश नेपालीको मृत्यु प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा समिति गठन गरेको जानकारी दिए। समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्य रहेका छन्।

समितिले घटनाको कारण, घटनाक्रम तथा प्रहरीको भूमिकासहित समग्र विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।

मन्त्री गुरुङले घटनाको छानविन निष्पक्षरुपमा गरिने स्पष्ट पार्दै तत्कालका लागि काठमाडौं महानगरका तीन जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे बताए।  

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि सडकदेखि संघीय संसद्सम्म सरकारको भूमिकामाथि प्रश्न उठाइएको छ। विभिन्न राजनीतिक दलका नेता, सांसद तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिरहेका छन्।

प्रकाशित: २६ असार २०८३ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App