२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोही गुरुङको अन्त्येष्टि

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। अन्तिम संस्कारअघि स्वयम्भू परिसरमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। 

श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, पूर्वउपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा पर्वतारोहण समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। सो अवसरमा गृहमन्त्री गुरुङले राष्ट्रिय झन्डा ओढाएर दिवंगत पर्वतारोही गुरुङप्रति सम्मान प्रकट गरेका थिए। 

गत साता ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा पुरबहादुर गुरुङसहित विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा लगायत ६ नेपाली तथा अन्य विदेशी आरोही गरी १० जनाको ज्यान गएको थियो। गुरुङको पार्थिव शरीर बिहीबार नेपाल ल्याइएको थियो। 

गोरखाको लाप्राकका ३७ वर्षीय पुरबहादुर गुरुङ नेपाली पर्वतारोहण क्षेत्रमा अत्यन्त अनुभवी र दक्ष गाइडका रूपमा परिचित थिए। उनले सगरमाथाको १० पटक सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरेका थिए। विश्वका १४ अग्ला हिमालमध्ये १२ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका उनी अन्तर्राष्ट्रिय पर्वतीय गाइड संघबाट प्रमाणित करिब १०० नेपाली गाइडमध्ये एक थिए। 

उनको व्यावसायिक दक्षता र योगदानले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा पनि विशेष पहिचान बनाएको थियो। सन् २०२४ मा सगरमाथामा करिब एक शताब्दी पुरानो बुट फेला पार्ने ऐतिहासिक अभियानमा समेत उनी सहभागी थिए। उक्त बुट सन् १९२४ मा सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका बेलायती पर्वतारोही एन्ड्रयू इरभिनको भएको विश्वास गरिन्छ, जसले विश्व पर्वतारोहण इतिहासमा महत्वपूर्ण खोजका रूपमा स्थान पाएको थियो। 

नेपाल पर्यटन विभागका प्रवक्ता हिमाल गौतमले पुरबहादुर गुरुङको निधनलाई नेपाली पर्वतारोहण क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। गौतमले ब्रोड पिकमा भएको दुर्घटनाले नेपालको पर्वतारोहण क्षेत्रले ठूलो क्षति व्यहोरेको बताउँदै उच्च हिमाली जोखिम व्यवस्थापन र उद्धार प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए। 

गुरुङको निधनसँगै नेपालले एक कुशल पर्वतारोही मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतारोहण प्रतिष्ठा उचो बनाउन योगदान पुर्‍याएका समर्पित हिमाली गाइडलाई पनि गुमाएको छ।  

प्रकाशित: २२ श्रावण २०८३ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App