५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

६ वर्षपछि टहराबाट घरको न्यानोमा सरिन् बिजमाया: ‘अब चुहिँदैन छानो, बग्दैनन् आँसु’

जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका लागि बितेका ६ वर्ष केवल समयको कालखण्ड मात्र थिएनन्, ती त ‘हिउँ र आँसु’ सँगै बगेका संघर्षका दिनहरू थिए।

६ वर्षअघि भारी हिमपातले टाउको लुकाउने घर भत्किएपछि उनको बास एउटा साँघुरो काठको टहरामा खुम्चिन पुग्यो।

माइनस डिग्रीको चिसो, प्लाष्टिकको छानोबाट तप्प–तप्प चुहिने पानी र हुरी चल्दा उड्ला कि भन्ने डरैडरको बीचमा उनले साना छोराछोरी हुर्काइन्।

तर, आज फोइगाउँको त्यही आँगनमा दृश्य फेरिएको छ। हिजोको त्यो मक्किएको टहराको सट्टा आज ढुंगा, माटो र काठले बनेको चार कोठे बलियो घर ठडिएको छ।

नयाँ घरको ढोकाबाट भित्र पस्दै गर्दा बिजमायाको मुहारमा देखिएको चमकले भन्थ्यो- यो घर केवल इँटा र माटोको संरचना मात्र होइन, यो एउटा गुमेको आत्मसम्मानको पुनरागमन हो।

बिजमायाको यो परिवर्तनको पछाडि पत्रकारिता र स्थानीय सरकारको हातेमालो जोडिएको छ। जुम्लाको कठ्यांग्रिदो चिसोमा टहरामै बस्नुपरेको बिजमायाको दर्दनाक खबर सञ्चारमाध्यममा आएपछि सरोकारवालाहरूको ध्यानाकर्षण भयो।

नेपाल पत्रकार महासंघ जुम्लाका तत्कालीन उपाध्यक्ष दिलामाया शाहीको पहल र सञ्चारकर्मीहरूको निरन्तरको खबरदारीले गुठिचौर गाउँपालिकालाई गम्भीर बनायो।

फलस्वरुप, गाउँपालिकाले घर निर्माणका लागि एक लाख रुपैयाँ सहयोग स्वीकृत गर्‍यो। त्यही एक लाख रुपैयाँको जगमा बिजमायाले ऋणधन गरेर भए पनि आफ्नो सपनाको महल ठड्याइन्।

अहिले उनीसँग दुई तले, चार कोठे चिटिक्क परेको घर छ। छुट्टै भान्सा र फराकिलो बसाई छ। घर हेर्दै बिजमायाले आँसु मिश्रित स्वरमा भनिन्, ‘ऋण त धेरै थपियो, तर घर बनेकोमा आनन्द छ। हिजो छोराछोरीलाई कहाँ सुताउ भन्ने पीर हुन्थ्यो, आज उनीहरूलाई छुट्टै कोठामा देख्दा सपनाजस्तै लाग्छ।’

समाचारको प्रभाव घर निर्माणमा मात्र सीमित रहेन। बिजमायाको व्यथा सार्वजनिक भएपछि आईएनएफ जुम्लाले ९ महिना पुग्ने खाद्यान्न सहयोग गर्‍यो भने तत्कालीन प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जाडो छल्न कम्बल र त्रिपाल उपलब्ध गराए।

गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा स्वीकार्छन्, ‘सञ्चारकर्मीहरूले आवाज नउठाएको भए सायद यो काम यति छिटो सम्भव नहुन पनि सक्थ्यो। सानो सहयोगले ठूलो परिवर्तन ल्याउँछ भन्ने यो जिउँदो उदाहरण हो।’

उपाध्यक्ष शान्ति मल्ल (भण्डारी) र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पनि बिजमायाको घरलाई ‘सामुदायिक जिम्मेवारीको नमूना’ भन्दै प्रशंसा गरेका छन्।

घर बनेर मुहारमा खुसी छाए पनि बिजमायाको मनमा अर्को ठूलो पीडा लुकेको छ। गाउँपालिकाको एक लाख सहयोगले घरको जग त बस्यो, तर पूरा गर्न उनले दिदीबहिनी र सहकारीबाट करिब ५ लाख रुपैयाँ ऋण काढेकी छन्।

उच्च शिक्षा पढ्ने उमेरको छोराको कलेजको फारम भर्ने पैसा नहुँदा र घरको ऋण तिर्ने बाध्यताले उनी मुग्लान (भारत) पस्नु पर्‍यो। ‘छोराको पढाइ छुट्यो, ऊ कमाउन गयो,’ बिजमाया भक्कानिइन्।

यद्यपि, छोरी सृजना भने कक्षा ९ मा पढिरहेकी छिन्। हिजो आमालाई ‘हाम्रो घर कहिले बन्छ ?’ भनी सोध्ने सृजना आज नयाँ घरको आँगनमा उभिँदै भन्छिन्, ‘अब त हिउँ पर्दा पनि डर लाग्दैन, आमाले पनि चिन्ता मान्नु पर्दैन।’

खरानी भएको आशालाई सँगालेर उठेकी बिजमाया भन्छिन्, ‘यो घर चारवटा भित्ता मात्र होइन, समाजले सम्हालेको मेरो जीवन हो।’

प्रकाशित: १५ मंसिर २०८२ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App