२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चट्याङबाट दुई महिनामा ३४ लाख बढी क्षति

गत जेठ ४ गते जुम्लाको गुठीचौर गाउँपालिका–२ को झुलेनी पाटनमा बथानमै चट्याङ लाग्दा २२ भेडाबाख्रा मरे। गुठीचौर–२ का हिराबहादुर ऐडीका १६ वटा र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेका थिए। 

कुल तीन लाख ३० हजार रुपैयाँको नोक्सान व्यहोर्नुपरेको थियो। पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए। पानी परेपछि रुखमुनि ओत लागिराखेको अवस्थामा चट्याङले हान्यो।

यस्तै गत जेठ महिनाकै ८ गते जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको भयो। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार शाही यार्सा संकलन गर्न पाटन पुगेकी थिइन्। त्यही चट्याङ लाग्यो। जुम्ला र जाजरकोटको सिमानामा पर्ने सुब्बाकुना पाटनमा यार्सा टिप्ने क्रममै चट्याङ परेको थियो।

यस्तै जेठ १६ गते जुम्लाको पातारासी गाउँपालिका–२ लम्तेली पाटनमा सामुदायिक वनमा स्थानीय चुम्मा बुढाका पाँचवटा भेडा चट्याङबाट मरे भने सातवटा भेडा घाइते भए। एक लाख ८० हजार रुपैयाँको क्षति भयो। यस्तै यही असार २३ गते जुम्लाको गुठीचौर गाउँपालिका–५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा एक सय ९७ भेडा मरे। प्रहरीका अनुसार ६ जना किसानका भेडा मरेका थिए।

यता पशु सेवा कार्यालय जुम्लाका पशु स्वास्थ्य अधिकृत भीमप्रसाद तिमिल्सिनाका अनुसार जसमध्ये बाख्रा १३, थुमा (साढ) पाँचवटा, भेडी एक सय ४७ वटा र ३२ वटा खसी मरेको तथ्यांकले देखाएको छ। चट्याङले कुल २५ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भयो। गत वर्ष जिल्ला प्रशासनले स्वीकृत गरेको जिल्ला दररेटअनुसार प्रति बाख्राको मूल्य १३ हजार, थुमा (साढ) को ४० हजार र भेडाको १५ हजार रुपैयाँ निर्धारण गरेको छ। एक लाख ६९ हजार रुपैयाँका बाख्रा मरेका छन् भने दुई लाख रुपैयाँको थुमा (साढ) र भेडा २२ लाख पाँच हजार रुपैयाँका मरे। उक्त पाटनमा नौ सयदेखि ११ सयको हाराहारीमा भेडा राखिएका थिए।

चट्याङ लागेर जुम्लाको सिंजा–६ भाडगाँउका ५२ वर्षका भेडागोठाला धनबहादुर रावत गम्भीर घाइते छन्। चट्याङको झट्काले उनको शरीरका कपडासमेत च्यात्तिएको छ। उनको जुम्लामा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ अस्पतालमा रिफर गरिएको छ भने गएको असार १६ गते दिउँसो जुम्लाको तातोपानी गाउँपालिका–८ मा पर्ने राक्से पाटनमा चराइरहेका बेला एक्कासि बाढीपहिरोले २२ वटा भेडा बेपत्ता भए भने चारवटा मृत अवस्थामा फेला परेका थिए, जसमा सर्पराज रावतका चारवटा भेडा बेपत्ता, अमर रावतका १२ वटा, लालसिंह रावतका ६ वटा बेपत्ता भए भने अमर रावतका दुईवटा, लालसिंह रावतका एकवटा, सर्पराज रावतका एकवटा मृत अवस्थामा फेला परेका थिए। जुम्ला भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ तर बर्सेनि भेडाहरू चट्याङ लागेर मर्छन् किसान गोविन बुढाले बताए।

भेडा पालेरै घर चलाएका किसानको व्यवसाय नै संकटमा परेको छ। किसानका अनुसार ‘पानी पर्न थालेपछि कि भेडाहरू अस्थायी गोठमा जान्छन् कि त ओत लागेर एकै ठाउँमा बस्छन्।  त्यही बेला चट्याङ परेपछि ठूलो क्षति हुने गरेको छ। पशु बिमाको चेतना किसानमा नहुनु, अनिवार्य बिमा गर्नुपर्ने नीति गाउँपालिकाले नल्याउनु र क्षतिपछि राहत तथा क्षतिपूर्तिका काम नहुनुले पनि पछिल्लो समय भेडापालन व्यवसाय संकटमा पर्न थालेको किसान सुरेन्द्र बुढा बताउँछन्। गाउँघरतिर घाँस अभाव हुने भएपछि अधिकांश भेडापालक किसानले बर्खायाममा भेडा चराउन पाटनतिर लैजान्छन्।

जुम्लामा १७ सयभन्दा बढी भेडा किसान छन्, जहाँ ८८ हजार तीन सय ८८ भेडा र ४३ हजार तीन सय ६ बाख्रा पालिएका छन्। ६९ हजार हेक्टर चरण क्षेत्र छ। पशु कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाका अनुसार पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ नहुँदा पनि भेडा प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ। चरण क्षेत्रको चुनौती छ। ‘भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्र विस्तारमा जोड दिनुपर्छ’, उनले भने। 

प्रकाशित: ३१ असार २०८२ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App