२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बारम्बार विपद्, पदयात्रामा धक्का

पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाडो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबैभन्दा उत्तम पनि मानिएको हो।

यही समयमा साहसिक पदयात्रा क्षेत्रमा पर्यटकको चहलपहल बढी नै हुने गरेको थियो। तर यस पटक हिमाली भेगका पर्यटकीय क्षेत्रमा पाहुना खचाखच हुने अवस्था सिर्जना हुनै पाएन। एकाध रुटमा पाहुनाको आउजाउ बाक्लो देखिए पनि चल्तीका धेरै रुट यति बेला सुनसानजस्तै बनेका छन्। पदयात्रामा जाने पाहुनाका लागि यस पटक प्राकृतिक विपद् बाधक बन्यो।

पर्यटकीय सिजन सुरु हुनै थालेको मात्र के थियो, रसुवा भोटेकोसी बाढीले विनाशलीला देखायो। उक्त बाढीपछि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे। त्यही बाढीमा परेका सयौं पर्यटक अहिलेसम्म सम्पर्कविहीन छन्। विपत्को मार त्यतिमा मात्र सीमित रहेन, त्यसपछि निम्तिएका विपद्का घटनाले चल्तीका पर्यटकीय क्षेत्रमा आउजाउ नै अवरुद्ध बनायो। कतै हिमपात त कतै बाढीपहिरो तथा कटानका कारण पर्यटकीय क्षेत्र नै स्थलमार्गबाट सम्पर्कविच्छेद बन्यो।

रसुवा भोटेकोसीको बाढीको प्रभाव सेलाउन नपाउँदै अन्नपूर्ण क्षेत्रमा वर्षाले उत्तिकै वितण्डा मच्चायो। हिमपात र वर्षाको त्रासले सुरुमै मनास्लु क्षेत्र आरोहणको तयारीमा रहेकाहरू लक्ष्य पूरा नगरी फर्किए। त्यसपछिको बाढीपहिरो र हिमपातको असर थपिँदै गयो। मनाङ हिमपहिरोमा परी १५ नेपालीले ज्यान गुमाए। त्यसबाहेक मनाङको सडक सञ्जाल विच्छेद हुँदा अन्नपूर्ण फेरोका पदयात्रा निकै प्रभावित भए। त्यही समयमा अन्नपूर्ण क्षेत्रकै बेनी–जोमसोम सडक पनि क्षतविक्षत बन्यो। उच्च भेगमा हिमपात र तटीय क्षेत्रमा सडक अवरुद्ध भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बन्यो।

त्यही बेलादेखि प्रभावित मुस्ताङको पर्यटन बिस्तारै खुल्ने क्रममा छ। अन्नपूर्ण फेरोको पदयात्रा पनि सोचेजस्तो सहज बन्नै सकेन। कैयौं दिन फेरोको पदमार्ग अवरुद्ध बन्यो। सुरुमा चामेको पहिरोले बाटो छेक्यो, जसोतसो पार गरेका पाहुनाले पनि थोराङला भन्ज्याङ पार गर्न पाएनन्। थोराङला क्षेत्रमा हिमपहिरो गएपछि सो क्षेत्रको पदयात्रा पनि प्रभावित भयो।

अन्नपूर्ण क्षेत्र ब्युँतिने तरखर गर्दै थियो, आइतबार फेरि गोरखाको मनास्लु क्षेत्रको पदयात्रामा अवरोध आउने गरी बुढीगण्डकीमा बाढी आयो। उक्त बाढीले सडक कटान मात्र गरेन, आउजाउ गर्ने पुलपुलेसासमेत बगायो। स्थानीयका अनुसार अझै कम्तीमा दुई साता मनास्लु क्षेत्र प्रवेशमा सकस हुने छ। पुल र सडक बनेपछि मात्र मनास्लु क्षेत्र प्रवेश गर्न सकिने छ।

‘यस पटकको पर्यटकीय सिजनमा हामीले जुन अपेक्षा गरेका थियौं, त्योभन्दा फरक अवस्था सिर्जना भयो। एकाध रुटमा मात्र पाहुना जान सक्ने अवस्था सिर्जना भएको छ। धेरैतिरका साहसिक रुट प्राकृतिक विपद्को मारमा परेका छन्,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य भन्छन्, ‘मनास्लु र अन्नपूर्ण क्षेत्रमाथि यो सिजनमा बारम्बार प्राकृतिक विपद्ले प्रहार गरेको छ। एउटा घटना सेलाउन नपाउँदै अर्को घटना थपिँदा समस्या बढेको बढ्यै भएको छ।’

उनका अनुसार यतिबेला सहज रूपमा अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रमा मात्र विदेशी पाहुना पुगेका छन्। मर्दी हिमाल क्षेत्र र केही सहज नजिकका गन्तव्यमा पाहुना पुगे पनि साहसिक कहलिएका अन्यत्रतिरका सबैजसो रुट विपद्बाट प्रभावित भएको आचार्यले बताए। ‘अन्नपूर्ण क्षेत्र जसोतसो ब्युँतने प्रयासमा थियो, आइतबार फेरि बुढीगण्डकीले मनास्लु क्षेत्रमा प्रभाव पार्‍यो। मनास्लुको पदयात्रा सहज हुन अझै केही दिन लाग्ने छ,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रमा परेको प्रभाव पनि अझै सहज बनिसकेको छैन।’

आचार्यका अनुसार मनास्लु क्षेत्रको फिलिम कटिसकेका पर्यटक लार्केपास गरेर मनाङको धारापानी निस्कन सक्छन् तर त्योभन्दा तलका पर्यटक भने माथि उक्लन पाउने छैनन्। त्यति मात्र नभई चुम क्षेत्रमा घुम्न जानेहरू भने रोकिएका छन्। आइतबारको बाढीले चुम क्षेत्रको पदयात्रा बढी प्रभावित बनाएको छ।

‘माथिल्लो क्षेत्रमा पुगिसकेका पर्यटक त पार भइहाले, बाढीको चपेटामा परेका पाहुनाको उद्धार भइरहेको छ तर अबका केही दिन तलबाट प्रवेश पाउने अवस्था छैन किनकि मनास्लु क्षेत्रको प्रवेशमार्ग नै रोकिएको छ,’ आचार्यले भने।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाले पनि बुढीगण्डकीको मारमा करिब २०० विदेशी पर्यटक परेको र सम्बन्धित कम्पनीले हेलिकोप्टरबाट उनीहरूको उद्धार थालिसकेको बताए।

‘लार्केपासका लागि कटिसकेका विदेशीको पदयात्रा चलिरहेको छ तर अब तलबाट थप पाहुना आउन पाउने छैनन्,’ उनले भने, ‘यो पदयात्राको उपयुक्त सिजन हो तर यो सिजनमा बारम्बार प्राकृतिक विपद्ले मनास्लु क्षेत्रलाई मार पारेको छ।’ सुरुमै हिमपातको त्रासले मनास्लु आरोहण रोकिए पनि अहिले बाढीपहिरोले नै असर पारेको उनले बताए।

‘यो सिजन प्राकृतिक विपद्को सामना गर्दै बित्ने अवस्था सिर्जना भएको छ। पर्यटकलाई सुरक्षित पदयात्रा गराउन हामीले सूचना प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘आइतबारको बाढीले प्रभावित पाहुनालाई पनि सुरक्षित रूपमा गन्तव्यमा पठाउने प्रयास भइरहेको छ।’ 

उनले पनि अझै कम्तीमा दुई साता मनास्लु क्षेत्रको प्रवेश रोकिने बताए। सडकको ट्र्याक र पुल तयार नभएसम्म पदयात्रा सुरु गर्नै नसकिने अवस्था रहेको ओझाले बताए। अर्को पर्यटकीय क्षेत्र मुस्ताङ पनि पर्यटकले भिडभाड हुने यो बेलामा सुनसानझैं बनेको छ। एक्यापका जोमसोमस्थित संरक्षण अधिकृत राजेश गुप्ताका अनुसार बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पाहुना आउजाउ रोकिएको हो।

‘अन्नपूर्ण फेरो पार गरेर आउने अवस्था पनि रहेन, बेनी–जोमसोम सडक पनि अवरुद्ध नै रह्यो, स्थलमार्गको यात्रा अझै सहज बनिसकेको छैन,’ उनले भने, ‘जसोतसो फेरोको पदयात्रा खुल्न त थालेको छ, बेनी–जोमसोमको सकसले पाहुना आउन सकेका छैनन्।’ पोखरा–जोमसोम हवाई मार्गको पहुँच भए पनि मौसमी चुनौतीले त्यो पनि निरन्तर हुन नसकेको उनले बताए।

‘अघिल्ला वर्ष यति बेला दिनमै स्वदेशी र विदेशी गरेर हजारौं पाहुना मुस्ताङ प्रवेश गर्थे तर यस पटक सुनसान छ,’ गुप्ताले भने, ‘मुस्ताङ यो बेला आन्तरिक पाहुनाका लागि पनि गन्तव्य बनेको थियो तर यस पटक पाहुना आउनै पाएनन्। न विदेशी न स्वदेशी, निकै नै कम पर्यटक भित्रिएका छन्।’

उनका अनुसार पाहुना बढ्दा अघिल्ला वर्ष मुस्ताङको जोमसोम क्षेत्र मात्र नभई माथिल्लो क्षेत्र र आसपासका होमस्टेसमेत भरिभराउ हुन्थे तर यस पटक सदरमुकामकै होटल सुनसान छन्। ‘यो बेला त होटलमा बास पाउन मुस्किल हुने समय हो तर अहिले सुनसान छ,’ उनले भने। गुप्ताका अनुसार बाटोको सहजता नभएकाले अझैं केही दिनसम्म पाहुना सहजै मुस्ताङ प्रवेश गर्ने अवस्था छैन। 

प्रकाशित: २७ आश्विन २०८३ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App