खैरहनी नगरपालिका १० र ११ का अति विपन्न र विपन्न परिवारलाई निःशुल्क धारा जडान तथा वितरण गरिएको छ।
खैरहनी नगरपालिका र भरोसा फाउन्डेसनको सहयोगमा कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले अति विपन्न मुसहर र बोटे समुदायमा ८६ घरधुरीलाई निःशुल्क धारा जडान गरिदिएको हो।
आज औपचारिक रूपमा धाराको हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा भरोसा फाउन्डेसनका निर्देशक काम पाइतेले अति विपन्न मुसहर वस्तिमा धारा जडान गरिदिन पाएकोमा खुसी व्यक्त गरे।
उनले स्वच्छ खानेपानीले मानिसको स्वास्थ्य समेत स्वच्छ लाग्ने भएकाले आगामी दिनमा पनि फाउन्डेसनले खानेपानीमा काम गरिरहने बताए। ‘यहाँ काम देखेर हृदय छोएको छ । आउने दिनमा के गर्न सकिन्छ,‘ उनले भने ‘तपाईँहरूसँग सल्लाह गरेर काम गर्छौँ।’
खैरहनी नगरपालिका र भरोसा फाउन्डेसनको सहयोगमा खैरहनी नगरपालिका १० स्थित मुसहर टोलमा ४५ र खैरहनी नगरपालिका ११ स्थित बोटेटोलमा ४१ वटा धारा जडान गरिएको हो।
यहाँ २७१ घरधुरीले धारा जडानका लागि निवेदन दिएका थिए। निवेदन आएका मध्ये पनि यस पटक अति विपन्न परिवारको घरमा धारा जडान गरिएको कठार खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जोखा चौधरीले जानकारी दिए।
यसअघि ४५ घरधुरी रहेको मुसहर बस्तीमा खानेपानी तथा सरसफाइका लागि ३ वटा मात्र चापाकल थिए। जसका कारण खानेपानी भर्न नै एक घण्टासम्म लाइनमा बस्न परेको उनीहरूले बताएका छन्। अहिले घरघरमा धारा जडान भएपछि खुसी लागेको सविना माझिले बताइन्।
यहाँ मदिरापानमा संलग्न भए र ३ हजार लिटर भन्दा बढी पानी खपत गरेमा पैसा तिर्ने सर्त समेत राखिएको सल्लाहकार कृष्णप्रसाद अर्यालले जानकारी दिए। पानी भए पनि सरसफाइ समेत बढ्ने र मानिसहरूको व्यवहारमा पनि परिवर्तन आउने विश्वास गरिएको छ।
भरोसा फाउन्डेसनको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा खानेपानीको धारा जडान गरिएको हो। खानेपानीको धारा हस्तान्तरण कार्यक्रममा भरोसा फाउन्डेसनका अध्यक्ष दीपक बोहोरा, सल्लाहकार चिन पाइते, नरहरि सापकोटा लगायतले मन्तव्य राखेका थिए।
प्रकाशित: १४ श्रावण २०८३ १७:०१ बिहीबार





