सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्।
देवानगञ्जमा साउन १० गते भएको दुई पक्षीय झडपबाट सुरु भएको हिंसात्मक घटनामा घाइते भएका तीन जनाको मृत्यु भइसकेको छ। सो घटनामा संलग्न भएको आरोपमा शनिबारदेखि केही व्यक्ति पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले बताए। उनले नाम भने सार्वजनिक गरेनन्।
पछिल्लो समय साउन १९ गते निधन भएका रविन्द्र मेहताका आफन्तले दोषी पक्राउ नगरेसम्म र सहिद घोषणा नगरेसम्म शव नबुझ्ने अडान लिएको र कप्तानगञ्जमा पनि दिनहु प्रदर्शन भइरहेका बेला केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।
गृहमन्त्री सुदन गुरुङले साउन १४ गते राति देवानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशका अभिभावकसँग दुवै जनालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एक–एक जना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको थियो। सहमति भएको भोलिपल्ट परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरिएको थियो। यही बिचमा साउन १९ गते अर्का घाइते रविन्द्र मेहताको पनि मृत्यु भएको थियो।
साउन १९ गते रविन्द्रको मृत्युपछि स्थानीयले कप्तानगञ्ज क्षेत्रमा दिनहुँ प्रदर्शन गर्दै आएका छन्। स्थानीयले गृहमन्त्री गुरुङले गरेको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।
सहमति कार्यान्वयन गर्न दबाब दिँदै पीडित पक्षले रविन्द्रको शव काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमै राखेका छन्। गृहमन्त्री सुदन गुरुङसँग पटक पटक वार्ता गरे पनि टुंगोमा पुग्न सकेको छैन।
घटना मुस्लिम समुदायको मोहर्रम मेलाको अवसरमा असार १४ गते बजारको बिच भागमा झण्डा गाडिएको थियो। त्यही स्थानमा साउनमा बोलबम परेकाले हिन्दु समुदायले झण्डा गाडेका थिए। यो विवाद वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको थियो।
साउन १० गते भने बोलबम जान लागेका युवाले देवानगञ्ज वडा नं. ३ मा मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयलाई लिएर युवाहरुको दुई समूहबिच झडप हुँदा घटना बढेर उग्र रूप लिएको थियो। यस घटनामा बेलैमा वडाध्यक्षले झण्डा विवाद निरुपण गरिदिएको भए र प्रहरीले बेलैमा विवेक पुर्याएको भए अहिलेको परिस्थिति नआउने दुवै पक्षको जिकिर छ।
प्रकाशित: २४ श्रावण २०८३ १०:४० आइतबार





