१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कञ्चनपुरका गुणस्तरहीन चार उद्योगलाई कारबाहीमा

खाद्य स्वच्छता तथा गुणस्तर कायम नगरेका कञ्चनपुरका चार उद्योगहरूलाई खाद्य तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले कारबाही गरेको छ।

विभागका अनुसार कञ्चनपुर दोधारास्थित शीतल  ग्रुप, लक्की जुस एन्ड खड्का वेभरेज चाँदनी– ९ दोधारा, कल्पना बेकरी उद्योग र तिलक फुड्स भिमदत्तलाई कारबाही गरेको हो।

उद्योगहरूले गुणस्तर कायम नगरेको, खाद्य स्वच्छता पालना नगरेको र दर्ता विना नै उद्योग सञ्चालन गरेको पाइएपछि कारबाही गरेको जनाएको छ।

जसमा शीतल ग्रुपले पिउने पानीको लागि पुरानो कुच्चिएको जार प्रयोग गरेको, लक्की जुस एन्ड खड्का वेभरेज इण्डष्ट्रिजले पलेफर्ड ड्रिङ्क्स प्लास्टिकको पाउचमा उत्पादन गरेको जनाएको छ।

त्यसैगरी कल्पना बेकरी उद्योगलाई कागजमा केक उत्पादन गरेको र खाद्य स्वच्छता कायम  नभएको अनुगमनको क्रममा पाइएको हो।

तिलक फुड्स भिमदत्तले अनुमति बिना प्लास्टिकको पाउचमा पेय पदार्थ उत्पादन गरेको पाइएपछि उद्योगलाई सिलबन्दी गरी तुरुन्त प्रक्रियामा जान निर्देशन दिएको छ। सिलबन्दीको क्रममा ७ सय ५० प्याकेट प्लेफर्ड नष्ट गरिएको छ।

अनुगमनको क्रममा लक्की जुस एन्ड खड्का वेभरेजलाई सिलबन्दी गरी तत्काल उत्पादन बन्द गरेको र आवश्यक प्रक्रियामा जान निर्देशन दिएको हो।

त्यसै गरी कल्पना बेकरी उद्योगलाई तत्काल केक नष्ट गरी उत्पादन स्थलको सफाइ र अन्य आवश्यक मापदण्ड पुरा गर्न निर्देशन दिएको छ।

प्रकाशित: ११ असार २०८३ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App