९ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

६ जिल्लामा ७ जना मृत फेला

देशका विभिन्न ६ जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। पर्सा, दोलखा, मकवानपुर, धादिङ, कपिलवस्तु र सल्यानका छुट्टाछुट्टै स्थानमा सोमबार र मंगलबार गरी सात जनाको शव भेटिएको हो।

प्रहरीका अनुसार पर्साको वीरगंज महानगरपालिका-२० हरपतगंजस्थित नहरमा सोमबार नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। यस्तै, दोलखाको मेलुङ गाउँपालिका-४ सिमखेत लामाटार बस्ने ६१ वर्षीय बिर बहादुर तामाङ छिमेकीको घरको बलेसीमा सोमबार मृत भेटिएका छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित नमुना चोकका ७४ वर्षीय सुर्य प्रसाद दाहाल आफ्नै घरमा सोमबार मृत फेला परेका छन्।

यता धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु बजारस्थित शर्मा होटल सञ्चालन गर्दै आएका नुवाकोट तार्केश्वर गाउँपालिका-३ का ४१ वर्षीय बद्री अधिकारी मंगलबार सोही होटल पछाडि मृत भेटिएका छन्।

कपिलवस्तुका दुई छुट्टाछुट्टै स्थानमा पनि दुई जनाको शव भेटिएको छ। मायादेवी गाउँपालिका-१ पकडी घर भएका ६० वर्षीय सुवाश अग्रहरी शुद्धोधन गाउँपालिका-६ बिमियास्थित सडकमा सोमबार मृत फेला परेका हुन्।

यस्तै, कपिलवस्तुकै वाणगंगा नगरपालिका-५ मटेरिया बस्ने ३० वर्षीय प्रकाश चौधरी सोही ठाउँस्थित कुलोमा सोमबार मृत फेला परेका छन्।

यसैगरी, सल्यानको बागचौर नगरपालिका–११ कामीपोल्नेस्थित बाफुखोलामा रोल्पा गंगादेव गाउँपालिका-४ बस्ने ७२ वर्षीय देउरूप डाँगी सोमबार मृत अवस्थामा भेटिएका छन्।

सबै घटनाहरूको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App