पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गएको छ।
कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। चित्रकार सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छिन्।
उपचारमा संलग्न चिकित्सक डा. निजिना ताम्राकारले चित्रकारको फोक्सोमा धुवाँ भरिएको बताए। उनले भने, ‘अवस्था अलि गम्भीर छ। तर स्वास्थ्यमा सुधार भइरहेको छ।’
चित्रकारको उपचारमा डा. ताम्राकारसहितका सर्जनहरूको समूह संलग्न छ। मंगलबार भएको प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री खनालको डल्लुस्थित घरमा प्रदर्शनकारीले आगो लगाएका थिए। आगो लागेपछि घरबाट निस्कने क्रममा चित्रकार जलेकी थिइन्।
प्रकाशित: २६ भाद्र २०८२ ०६:२० बिहीबार





