डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पु भीरबाट खसालेको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्ति मार्फत कार्यालयले सामाजिक सञ्जालमा देखाइएजस्तो उक्त टेम्पु सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न प्रयोग गरिएको गुड्न नसक्ने साधन रहेको जनाएको छ।
कार्यालयका अनुसार गोदावरी सामुदायिक वनअन्तर्गत गाईमारे चुरे वन क्षेत्र संवेदनशील पर्यावरणीय क्षेत्र हो, जहाँ लामो समयदेखि अवैध रूपमा खोका तथा छाप्रा निर्माण गरी सरकारी जमिन कब्जा गर्ने र किनबेच गर्ने गतिविधि हुँदै आएको थियो। पछिल्लो पाँच महिनायता पनि त्यहाँ पुनः अवैध संरचनाहरू खडा गरिएका थिए।
विज्ञप्तिमा घनश्याम धामीले चक्का र इन्जिनसमेत नभएको, धकेलेर सार्न समेत कठिन हुने फलामे ढाँचा ल्याएर पसलको टहराका रूपमा प्रयोग गरेको उल्लेख गरिएको छ। वन कार्यालयले करिब एक महिना अगाडि नै उक्त संरचना हटाउन निर्देशन दिएको भए पनि धामीले अटेर गर्दै आएको जनाएको छ।
शुक्रबार अतिक्रमण हटाउने अभियानका क्रममा वन टोलीले गुड्न नसक्ने उक्त ट्याम्पोलाई हटाउन खोज्दा भिरालो भू–भाग र असन्तुलनका कारण संरचना अनियन्त्रित भई भीरबाट खसेको कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८३ ११:५७ आइतबार





