श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले पश्चिम एसियाका विभिन्न देशमा कामका लागि जान केही समयदेखि रोक लगाएको श्रम स्वीकृति पुनः दिन थालेको छ । सरकारले पश्चिम एसियाका विभिन्न देशमा नेपाली कामदार पठाउने प्रक्रिया सोमबारबाट पुनः सुरु गरेसँगै वैदेशिक रोजगारी क्षेत्र चलायमान भएको छ ।
विभागका अनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की, इजरायललगायतका देशमा जान नेपाली कामदारलाई पुनः अनुमति दिइएको छ । अहिले नेपाली कामदारले ती देशहरूमा जान चाहेको अवस्थामा विभागबाट श्रम स्वीकृति लिन सक्छन् ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार यो नेपाली कामदारका लागि राहतको खबर हो । वैदेशिक रोजगार विभागले १२ वटा देशका लागि श्रम स्वीकृति प्रक्रिया सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ । नेपालीका लागि नयाँ मुलुक नभएर पुरानै मुलुकमा कामका लागि जान पुनः श्रम स्वीकृति दिन थालेको उनले बताए ।
‘नयाँ देशमा जानका लागि श्रम स्वीकृति खुला गरिएको होइन,’ उनले भने, ‘पहिला नेपाली सहजै गइरहेका मुलुकमा जान केही समय रोक लगाइएको थियो । अलिहे त्यसैलाई हामीले खुला गरेका हौं । रोकिएको श्रम स्वीकृति दिन सोमबारदेखि सहजीकरण गरिएको छ ।’ यो वैदेशिक रोजगारीमा जान चाहनेका लागि सकारात्मक पक्ष हुने उनले बताए ।
माथि उल्लिखित देशमा कामका लागि जान संस्थागत तथा व्यक्तिगत दुवै किसिमका श्रम स्वीकृति खुला गरिएको घिमिरे बताउँछन् । अमेरिका–इरान तनावले पश्चिम एसियाका मुलुकमा अशान्तिको अवस्था सिर्जना भएपछि सरकारले फागुन १७ गतेदेखि ती देशहरूमा जान श्रम स्वीकृति बन्द गरेको थियो । इमरजेन्सी रेस्पोन्स टिम (इआरटी) ले परिस्थितिको मूल्यांकन गरी श्रम स्वीकृति पुनः खोल्न उपयुक्त भएको ठहर गर्दै श्रम मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट श्रम स्वीकृति खुला गरिएको विभागले जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा १११ र व्यक्तिगत रूपमा १७८ देश खुला गरेको छ । सरकारले संस्थागत रूपमा खुला नगरेका देशमा पनि नेपाली अवैध तवरबाट जाने गरेका छन् । दलालहरूले विभिन्न प्रलोभन देखाउँदै सरकारले वैदेशिक रोजगारीका लागि अनुमति नदिएका देशमासमेत नेपालीलाई पठाउँदै आएका छन् ।
नियमअनुसार कामदार छनोट गर्न निर्देशन
वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई प्रचलित कानुनअनुसार मात्र कामदार छनोट तथा वैदेशिक रोजगारी प्रक्रिया सञ्चालन गर्न कडा निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन, २०६४ अनुसार पूर्वस्वीकृति प्राप्त भएपछि मात्र कामदार छनोट गर्नुपर्छ । त्यसका लागि राष्ट्रियस्तरका दैनिक पत्रिकामा कम्तीमा ७ दिनको म्याद दिएर विज्ञापन प्रकाशित गर्नुपर्ने प्रावधानलाई विभागले स्मरण गराएको छ ।
विभागको सूचनाअनुसार प्रकाशित विज्ञापनका आधारमा तोकिएको योग्यता, अनुभव र दक्षताका आधारमा कामदार छनोट गर्नुपर्छ । छनोट भएका कामदारको भिसा प्रक्रिया अघि बढाई भिसा प्राप्त भएपछि मात्र इजाजतपत्र प्राप्त संस्थाले अन्तिम श्रम स्वीकृतिका लागि विभागमा पेस गर्नुपर्ने व्यवस्था छ ।
‘कानुनका सबै प्रक्रिया पूरा नगरी कामदार पठाउने गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ,’ विभागको सूचनामा उल्लेख छ ।
विभागले सम्पूर्ण म्यानपावर कम्पनीलाई प्रक्रिया पूरा गरेर मात्र कामदार पठाउन आग्रह गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यस्तो निर्देशन जारी गरिएको जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई महिला पक्राउ
यसैबिच प्रहरीले वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौं– १४ कि ३३ वर्षीया विनीता नगरकोटीलाई कीर्तिपुर नगरपालिका–२ बाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर पोल्यान्ड पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि अनुसन्धानका लागि नगरकोटीलाई पक्राउ गरिएको हो ।
उनले एक जनाबाट वैदेशिक रोजगारीका नाममा १ लाख २० हजार रुपैयाँ लिएर पनि विदेश नपठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यसैगरी जर्मनी पठाइदिने भन्दै १६ लाख ठगी गरेको आरोपमा प्रहरीले मोरङको बेलबारी–२ स्थायी घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठलाई पनि भक्तपुरको राधेराधेबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले जर्मनीमा आकर्षक तलबसहितको काममा पठाइदिने भन्दै रकम लिएको तर विदेश नपठाइदिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार श्रेष्ठले जर्मनी पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रकाशित: ९ वैशाख २०८३ २०:३२ बुधबार




