८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

वैदेशिक रोजगारी: रहर होइन बाध्यता

मुलुकमा रोजगारीका अवसर सिर्जना नहुँदा लाखौं युवा वर्सेनि वैदेशिक रोजगारीमा जान बाध्य छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउनदेखि चैत) नौ महिनामा वैदेशिक रोजगारीका लागि ५ लाख ८७ हजार ३४० जनाले श्रम स्वीकृति लिएका छन्। जसमध्ये पुरुषको संख्या ५ लाख १७ हजार ९३६ र महिलाको संख्या ७९ हजार ४०४ छ। यो तथ्यांकले वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण अझै नघटेको देखाउँछ।

चालु आवको नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा कात्तिकमा सबैभन्दा धेरै र फागुनमा सबैभन्दा कम छन्। कात्तिकमा७३ हजार ९४ जनाले र फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने संख्या सबैभन्दा धेरै कात्तिकमा हुनुको प्रमुख कारण मुख्य चाडपर्व सकिएलगत्तै कामको खोजीमा निस्कनु हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार फागुनमा श्रमिकको संख्या घट्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय परिस्थितिसँग जोडिएको देखिन्छ। विशेष गरी इरान–अमेरिका तनावले विश्व श्रम बजारमा असर पारिरहेको छ। उक्त तनावका कारण केहीश्रमिक गन्तव्य देशले कम मात्रामा श्रमिक माग गर्नु हो। ‘मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण विश्व बजार नै प्रभावित भएको छ,’ घिमिरेले भने, ‘कतिपय श्रमिक गन्तव्य देशले अस्थायी रुपमा श्रमिक भर्ना प्रक्रिया रोकेका कारण नेपालबाट श्रम स्वीकृति दिने वा लिने प्रक्रियासमेत प्रभावित हुनुले हो।’

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनिवार्य प्रक्रिया हो। पछिल्लो समयमा अन्तर्राष्ट्रिय परिस्थिति र श्रम बजारको उतारचढावले नेपाली श्रमिकको बिदेसिने प्रवृत्तिमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार सात सय ५, पुसमा ६२ हजार ५५९, माघमा ७० हजार ५०३, फागुनमा ५२ हजार ९४४ र चैतमा ६१ हजार ८१९ जनाले र श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षम श्रम स्वीकृति लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा कम छ। यस वर्ष विभिन्न कारणले गर्दा श्रमिक बिदेसिने दरमा कमी आएको हो। श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार श्रम स्वीकृति लिनेको संख्या घट्नुमा आन्तरिक तथा बाह्य दुवै कारण छन्।

विशेषगरी अन्तर्राष्ट्रिय स्तरमा देखिएका तनाव र अस्थिरताले यसमा प्रत्यक्ष प्रभाव पारेको हो। त्यसैगरी जेनजी आन्दोलन र प्रशासनिक अवरोधले पनि बिदेसिनेको संख्यामा कमी आएको हो। त्यसैले समग्रमा गत आवको तुलनामा चालु आवमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा कमी आएको अधिकारीहरू बताउँछन्।

तथ्यांकअनुसार गत फागुनको तुलनामा चैतमा श्रम स्वीकृति लिनेको संख्या झन्डै ९ हजारले बढेको छ। फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका थिए। चैतमा ८ हजार ८७५ जना बढेर ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्षको नौ महिनामा संयुक्त अरब इमिरेट्स (युएई) जानका लागि श्रम स्वीकृति लिने सबैभन्दा धेरै छन्। युएई नेपालीको श्रम गन्तव्य मुलुकमा पहिलो नम्बरमा छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको संख्या घटेपचि गत आर्थिक वर्षदेखि युएई, कतार र साउदी अरेबिया जानेको संख्या बढेको हो। चालु आवको चैतसम्म युएईका लागि एक लाख ३७ हजार ८९२ जनाले श्रम स्वीकृति लिएका छन्। युएईपछि कतारका लागि श्रम स्वीकृति लिने छन्। नौ महिनामा कतारका लागि ९९ हजार ५४३ जना, साउदी अरेबियाका लागि ९९ हजार ४० जना, मलेसियाका लागि ८७ हजार ७३४ जना र कुवेतका लागि ३४ हजार ९३० जनाले श्रम स्वीकृति लिएका छन्।

पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजनामा सरकार पनि लागेको मन्त्रालयका प्रवत्ता घिमिरेले बताए। उनका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङको देखिन्छ।

प्रकाशित: १२ वैशाख २०८३ १३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App