२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

खुम्चिँदै वैदेशिक रोजगारी, फेरिँदै श्रम गन्तव्य

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या क्रमशः घट्दै गएको छ । जेनजी आन्दोलनपछिको कूटनीतिक अवस्था, श्रम नीति र भिसा प्रक्रियामा भएको कडाइका कारण परम्परागत श्रम गन्तव्य मुलुकहरूमा नेपाली श्रमिकको पहुँच साँघुरिँदै गएको देखिन्छ । नेपालमा जेनजी आन्दोलनपछि प्रमुख श्रम गन्तव्य देशहरूले सुरक्षा, भिसा तथा श्रम स्वीकृति प्रक्रियामा कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको र गन्तव्य मुलुक पनि फेरिन थालेको संकेत तथ्यांकले गरेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले भिसा मापदण्ड कडा बनाएपछि त्यहाँ जाने नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा घटेको छ । युएई नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य रहँदै आएको भए पनि पछिल्लो समय त्यहाँ जानेको संख्या निरन्तर घट्दो छ ।

युएईले कडाइ गरेपछि साउदी अरेबियातर्फ नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । कात्तिक र मंसिरमा युएई जानेभन्दा साउदी अरेबिया जाने नेपालीको संख्य बढी छ । यसले श्रम गन्तव्यको प्राथमिकतामा पनि परिवर्तन आएको संकत गरेको छ । साउन, भदौ र असोजमा भने नेपालीको पहिलो श्रम गन्तव्य मुलुक युएई नै थियो । साउनमा झन्डै २३ हजार, भदौमा २५ हजार र असोजमा १८ हजार नेपाली श्रम स्वीकृति लिएर युएई गएको विभागको तथ्यांक छ । कात्तिकदेखि युएई जानेको संख्यामा कमी आएको छ । कात्तिकमा १३ हजार र मंसिरमा ९ हजार नेपाली युएई भित्रिएको तथ्यांक छ । युएईको ढोका साँघुरिँदै गर्दा साउदी अरेबिया, कतार र मलेसियातर्फ नेपालीको आकर्षण बढेको विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो तथ्यांकले नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबिया र कतार भएको संकेत गर्छ । युएईतर्फको श्रम प्रवाह घट्दै जाँदा साउदी अरेबियातर्फ नेपाली श्रमिकको आकर्षण बढेको हो । गत साउनमा ९ हजार, भदौमा १० हजार, असोजमा ९ हजार, कात्तिकमा करिब १६ र मंसिरमा १४ हजार नेपालीले साउदी अरेबियाका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । त्यसैगरी कतार जाने नेपाली श्रमिकको संख्या पनि पछिल्ला महिनामा बढेको छ । नेपाली श्रमिकहरू मलेसिया र कुवेतजस्ता अन्य मुलुकतर्फसमेत आकर्षित हुँदै गएका छन् । यसले वैदेशिक रोजगारीमा जाने समग्र संख्यामा कमी आए पनि गन्तव्य भने फेरिँदै गएको संकेत गर्छ ।

कात्तिकको तुलनामा मंसिरमा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । विभागको तथ्यांकअनुसार मंसिरमा कामका लागि विदेश जान ६५ हजार ७ सय ५ नेपालीले श्रम स्वीकृति लिएका छन् । जुन कात्तिकको तुलनामा सात हजार तीन सयले कम हो । कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए ।

जेनजी आन्दोलनपछि युएई जानेको चाप घटेको छ । अहिले झन् प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएका छन् । पहिले कन्सुलर विभागमार्फत प्रहरी प्रतिवेदनका लागि ५ सय रुपैयाँ लिने गरिएको थियो । तर अहिले प्रमाणीकरण युएई दूतावासमार्फत गर्नुपर्ने व्यवस्था आएपछि शुल्क करिब १४ हजार रुपैयाँसम्म पुगेको छ ।

विभागका निर्देशक टीकाराम ढकालका अनुसार युएई जाने नेपाली घट्नुको मुख्य कारण त्यहाँको सरकारले कडाइ गर्नु हो । युएई जाने श्रमिकको हकमा प्रहरी प्रतिवेदन बनाएर बुझाउन त्यति सहज छैन् । त्यसैले युएई जान तयार भएका प्रायः सबै श्रमिक साउदीतिर गएको उनले बताए ।

निर्माण तथा सेवा क्षेत्रमा कामदारको उच्च मागका कारण साउदी अरेबिया नेपाली श्रमिकका लागि वैकल्पिक र प्राथमिक गन्तव्य बन्न थालेको उनी बताउँछन् । कतार, कुवेत, बहराइन र ओमानभन्दा ठुलो देश साउदी अरेबिया हो । त्यहाँ विदेशी कामदारको माग बढेपछि नेपाली श्रमिकले पनि त्यतैतिर ध्यान दिएका हुन् । भिसा प्रक्रियामा देखिएको सहजता, रोजगारीको स्थिरता र भुक्तानीमा आएको सुधारले पनि धेरै नेपाली रोजगारीका लागि साउदी अरेबिया जान चाहेको ढकालले बताए ।

‘अहिले नेपालीको प्रमुख गन्तव्य मुलुक भनेकै साउदी अरेबिया हो’, ढकालले भने, ‘नेपाल र साउदीबिच पहिलो पटक श्रम सम्झौता हुन लागेको छ । सम्झौतामा दक्ष कामदारलाई प्राथमिकता दिने कुरा उठेको छ । नेपालले सम्झौतामा श्रमिकको न्यूनतम तलब, बिमा, स्वास्थ्य सुविधा र सामाजिक सुरक्षाका विषयमा जोड दिएको छ ।’ सम्झौता भएपछि नेपाली श्रमिकका अधिकार कानुनी रूपमा सुनिश्चित हुने अपेक्षाले पनि साउदीमा जानेको संख्या बढेको हो । हाल नेपाली वैदेशिक रोजगारीका लागि साउदीतर्फ केन्द्रित भएको उनले बताए ।

एक दशकभन्दा लामो प्रयासपछि नेपाल र साउदीबिच श्रम सम्झौता हुन लागेको हो । २०७० सालदेखि नै नेपालले साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताको मस्यौदा पटकपटक तयार भए पनि अन्तिममा साउदी नै पछि हट्दै आएको थियो ।

विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ । एक पटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोज्ने गरेका छन् । जेनजी आन्दोलनपछि युएईले नेपालीलाई भिसामा कडाइ गरेको छ, जसका कारण त्यहाँ जाने नेपालीको संख्यामा कमी आएको देखिएको छ ।

‘अवैधानिक तवरले बिदेसिएका नेपालीको संख्या विभागसँग छैन । सबैभन्दा बढी नेपाली जाने देशचाहिँ युएई हो । अहिले त्यहाँ जानेको संख्यामा कमी आएको छ’, निर्देशक ढकालले भने ।

श्रम विज्ञहरूका अनुसार कूटनीतिक सम्बन्ध, भिसा नीति, श्रम सम्झौता र रोजगारीको मागले नेपाली श्रमिकको गन्तव्य निर्धारणमा निर्णायक भूमिका खेल्छ । विज्ञहरूले वैदेशिक रोजगारीलाई स्थिर र सुरक्षित बनाउन कूटनीतिक पहल, श्रम सम्झौताको पुनरवलोकन र श्रमिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् ।

प्रकाशित: १६ पुस २०८२ २१:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App