३ मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

खुला स्थानमै किन गरिन्छ शौच?

आज सन् २०२६ को १९ नोभेम्बर। विश्व शौचालय दिवस, संसारभरि आज दिवस मनाइरहँदा महोत्तरीका मुसहर, बाँतर, डोम र हलखोर जाति भने खुला स्थानमा नै शौच गर्न बाध्य छन्।

गरिबी र अशिक्षाका कारण शौचालय बनाउन नै नसकेकाले उनीहरू खुला चउर र झाडीमा विनालाज शौच गरिरहेको जो कोहीले देख्न सक्छन्। ‘सुरक्षित शौचालयः समान भविष्य’ को नारासाथ आज विश्व शौचालय दिवस विश्वभर मनाइँदैछ।

आज विश्व शौचालय सङ्गठन स्थापनाका गन्तीले २६ औँ र संयुक्त राष्ट्रसङ्घले औपचारिक रूपमा मान्यता दिएको गणनाले १४औँ विश्व शौचालय दिवस हो।

सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सिमान्तकृत जाति समुदायका घर शौचालयविहीन छन्। मुलुक खुलादिसामुक्त राष्ट्र घोषणा भएको छ वर्ष नाघेको छ। विसं २०७६ साल असोज १३ गते (३० सेप्टेम्बर सन्  २०१९) नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको हो।

त्यसयता विपन्न परिवारका घरमा शौचालय निर्माणका योजना नबन्दा महोत्तरीका कूल एक लाख ४० हजार ७३० घरपरिवारमध्ये १५.४ प्रतिशत घरका जनता दिसापिसाब गर्न अझै खुला चउर, झाडी र सडकपेटी प्रयोग गर्न बाध्य छन्। पछिल्ला एक दशकयता गरिब बस्तीकै सर्वसाधारण पनि सडकपेटीमा भने दिसापिसाब गर्ने निकै घटेका सकारात्मक उपलब्धि पनि छ।

विसं २०६८ र २०७८ को बीचको १० वर्ष विभिन्न राष्ट्रिय/ अन्तर्राष्ट्रिय सामाजिक सङ्घसंस्थाको साझेदारीमा स्थानीय तहले अभियानकै रुपमा सरसफाइ सचेतना र शौचालय निर्माणका काम बढाएका थिए।

उक्त अवधिमा शौचालय निर्माणको कामले निकै गति लिएको थियो तर २०७८ यता यो अभियान खासै नबढ्दा त्यसयता भने थप सुधार हुन नसकेको सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको भङ्गाहा–४ स्थित सूर्योदय सांस्कृतिक क्लवका पूर्वअध्यक्ष गोपालप्रसाद श्रेष्ठको भनाइ छ।

महोत्तरीका गरिब दलित बस्ती मात्र नभएर अतिव्यस्त चोकबजार क्षेत्रमा  सार्वजनिक शौचालयको अभाव छ। यो अवस्था अन्त्यको मुख्य पहलकदमी स्थानीय तहले लिनुपर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लालकर्णको सुझाव छ।

“हामीले योजनाबद्ध काम गर्ने सङ्कल्प लिँदा अब केही समयभित्रै शौचालयविहीन अवस्था अन्त्य गर्न सक्छौँ”, कर्ण भन्छन्, “यो अभियानको मुख्य पहलकदमी स्थानीयतह (वडा समिति तथा गाउँ÷नगर पालिका)ले सामाजिक सङ्घसंस्थालाई समन्वय गर्दै  लिनपर्छ।”

यस्तो प्रयत्न बढाइँदा केही समयभित्रै शौचालय सुविधाविहीन अवस्था अन्त्य गर्न सकिने कर्णको विश्वास छ।

मधेशका सबै जिल्लामा बसोबास रहेका मुसहरको २०७८ को पछिल्लो राष्ट्रिय जनगणनामा महोत्तरीमा २७ हजार ३५२ जनसङ्ख्या देखिन्छ। हाल बढेर ३० हजारको सेरोफेरोमा पुगेको यहाँका १५ वटै स्थानीय तहको आँकडाबाट अनुमान गर्न सकिन्छ।

शैक्षिक, आर्थिक, सामाजिक र स्वास्थ्यका अवसरबाट निकै टाढा रहेका यी जाति समुदायको ठूलो हिस्सा अझै शौचका लागि झाडी र बस्तीबाट अलि परको चउरकैभरमा छन्। अत्यन्त पछौटेपनले जकडिएका मुसहरका नयाँ पुस्ताले शौचालयको महत्व बुझ्दै गएका पाइन्छ।बस्तीका अरु समुदायको देखासिकीबाट पाका मुसहर पनि शौचालयको आवश्यकता बुझ्न थालेका छन् तर आफ्नो बस्तीभित्र कसैसँग शौचालय बन्ने थप जग्गा नहुँदा शौचमा यी जाति समुदायको नियति फेरिन नसकेको हो।

“चर्पी चाहिने हो हजुर ! तर हाम्रा यी पराले झुप्राका गुजुमुज्ज बस्तीमा दुई÷चार हातको चर्पी बनाउने ठाउँ छैन”, दिक्दारी भावमा भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा ६५ वर्षीय जुगला सदा भन्नुहुन्छ, “दिसापिसाब गर्न चौडी (चउर) पस्नुपर्ने दिन नसकिने भए ।” चार÷पाँच वर्षअघि बस्तीमा चर्पी बनाइ दिने भन्दै कुनकुन संस्थाका मान्छे आए पनि ठाउँ नहुँदा बन्न नसकेको बताउनुहुन्छ ।

“हेनोस् न हाम्रा झुप्रा।आठ÷१० हात लम्बाइ–चौडाइको ठाउँमा एकअर्काका टाँस्सिएर बनेका छन्”, जुगला भन्नुहुन्छ, “ठाउँ नै छैन ।”  परालको छाना र झिक्रामिक्राका भित्ताका झुप्रा बनेका ठाउँ पनि आफ्नो नाउँमा नरहेको उहाँ बताउनुहुन्छ।यस बस्तीमा अहिले करिब ७० घरपरिवार मुसहर छन्।

मुसहरजस्तै आहारव्यवहार र धेरै परम्परा मिल्ने दलित समुदायका बाँतर जाति पनि हुन्।मुसहरको जिल्लाका अरु सबै स्थानीयतहमा धेरथोर बसोबास भए पनि बाँतर भने  भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन्।

मुसहर  र बाँतर जोडिदा भङ्गाहा नगरपालिका क्षेत्रमा छुट्टाछुट्टै गणनामा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति समुदाय हुन्छ ।

बाँतर जातिका अधिकांश बस्ती पनि शौचालयविहीन छन्।यसै नगरक्षेत्रमा २७.९ प्रतिशत घर अझै शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ।पछिल्ला पाँच वर्षमा उल्लेख्य सुधार नआएको नगरक्षेत्रका सामाजिक सङ्घसंस्थाका अगुवाले स्वीकार गर्नुभएको छ।

यहाँका मुसहर, बाँतरका लागि दिसापिसाब गर्ने थलो चउर, झाडी र रातविरात त सडक छेउका किनार हुन्छन्।नगर क्षेत्रमा पातलो बसोबास रहेको अर्को दलित समुदाय डोम जातिको पनि अवस्था मुसहर, बाँतरजस्तै छ।

पुरुषलाई महिलालाई शौचमा झनै अप्ठ्यारो छ।उज्यालो नहुँदै बस्तीभरिका महिला मेलापात हिँडे झैँ समूहमा दिसापिसाब गर्न निस्कन्छन्।“के गर्नु ? हामीसँग झिक्राझिक्रीले बारबेर गरेर खाल्डो खन्ने ठाउँ पनि छैन”, भङ्गाहा–३ सकरी बस्तीकी शुकनी सदा भन्नुहुन्छ । मुसहर समुदाय यहाँका मात्र नभएर जिल्लाभरिकै खुला दिसापिसाब गर्छन्।सम्पत्तिको नाउँमा सानो पराले झुप्रो मुस्किलले ठडिएको हुन्छ।झुप्राहरु एकअर्कोमा खप्टिए झैँ छन्।

कसैसँग शौचालय बनाउने ठाउँ र आर्थिक सामथ्र्य नभएपछि मुसहरको दिसापिसाब खुला गर्नुपर्ने बाध्यता नहटेको सामाजिक संस्था, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णको भनाइ छ।

जिल्लामा मुसहरमात्र नभएर बाँतर, डोम, मेस्तर, हलखोर, चमार, खत्बे र दुसाधसहितका जाति समुदाय पनि आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसर नपाएर निकै पछि परेका मानिन्छन्।तर शौचालयमा पहुँच नहुनेमा मुसहर, बाँतर, डोम र हलखोर नै बढी छन् ।

महोत्तरीमा २०७८ को राष्ट्रिय जनगणनाले सात लाख छ हजार ९९४ जनसङ्ख्या देखाएको छ।राष्ट्रिय जनगणनाअनुसार जिल्लाका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर रहेको देखिएका छन्।

आज विश्व शौचालय दिवस मनाइरहँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय नभएका अझै महोत्तरीमा १५.४ प्रतिशत घरपरिवार रहेका राष्ट्रिय जनगणनाकै तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: ३ मंसिर २०८३ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App