३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडा मोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब १०ः३० बजे कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये अछामको विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमिल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको छ।

अन्य घाइतेमा अछामकी २७ वर्षीया जीवनकला बयक, कैलालीका तीन वर्षीय समिर बादी, दैलेखका ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा, अछामका १५ वर्षीय निरज भण्डारी र ३५ वर्षीय धिराज विक तथा कैलालीका २० वर्षीय गोपाल बोगटी र २० वर्षीया शान्ति भण्डारी रहेका छन्।

दुर्घटनामा अन्य १० जना बालबालिकासहितका यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको छ।

गाडी चालक अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाही दुर्घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८३ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App