ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती मावि कुञ्जारीले स्थापनाकालदेखि अहिलेसम्ममा पहिलो पटक विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व पाएको छ।
विद्यालय व्यवस्थापन समितिको नेतृत्व कमैमात्र रहेको अवस्था कुञ्जारीले तोडेको हो। कुञ्जारीको बिब्यस समितिले पूर्णता पाउँदा शान्ति योङ्हाङ यवागु अध्यक्ष बनेकी छन्। २०२४ सालमा स्थापना भएको उक्त विद्यालयले व्यवस्थापन समितिमा पहिलोपटक महिला नेतृत्व पाएको हो। विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रधानाध्यापक केशव अधिकारीका अनुसार समितिका सदस्यहरूमा तारावीर काङ्वा, बिमू मादेन, सुरेन लक्सम्वा, नवराज बुढाक्षेत्री, नेहा काङ्वा राई सर्वसम्मत चयन भएका छन्।
व्यवस्थापन समितिमा रहने दुई पदेन सदस्यमा शिक्षकहरूको प्रतिनिधित्व गर्दै महिला शिक्षक कञ्चन तामाङ सदस्य बनेकी छन्। ताप्लेजुङ जिल्लामै एक मात्र निर्वाचिन महिला वडाध्यक्ष रहेकी कुमारी साउदेन समेत विव्यसको पदेन सदस्य हुनेछन्। साउदेन ताप्लेजुङको एकमात्र निर्वाचित महिला वडाध्यक्ष हुन् भने वडाध्यक्ष सदनकुमार साँवाको मृत्युपछि मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी महिला वडा सदस्य सलिना बराईलीले पाएकी छन्।
शान्तिभन्दा सरस्वती मावि सिकैचाको विद्यालय व्यवस्थापन समितिमा हालसम्म जसबहादुर लक्सम्बा, रामध्वज बोखिम, कालिबहादुर बोखिम, आसबहादुर काङ्वा, नरबहादुर काङ्वा, जयबहादुर बोखिम, लालबहादुर लक्सम्बा, दिलप्रसाद बोखिम, सन्तोष चाम्लिङ, भीमबहादुर लक्सम्बा(कार्यवाहक), गोपाल चोमरिया र सुकप्रसाद काङ्वाले नेतृत्व गरेको इतिहास रहेको छ। विद्यालयको स्थापना जसबहादुर लक्सम्बा, कालिबहादुर बोखिम, दिलबहादुर बिष्ट र कालिबहादुर दाहाल सहितले गरेको बताइन्छ। स्थापनाकालमा जग्गादाता र भवन निर्माणकर्ताको रुपमा हस्तबहादुर बुढाथोकीको नाम रहेको छ।
प्रकाशित: ११ पुस २०८२ ११:५० शुक्रबार





