अविरल वर्षा र बाढीका कारण देशका प्रमुख जलविद्युत आयोजना तथा प्रसारण संरचनामा व्यापक क्षति पुगेको छ।
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरमा क्षति पुर्याउँदै माथिल्लो त्रिशूली ३ बी २२० केभी हब बगाएपछि विभिन्न आयोजनाबाट उत्पादित कुल ४३० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ।
यस प्राकृतिक विपद्बाट नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरूमा मात्रै प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ।
देशभरका विभिन्न नदी करिडोरमा रहेका कुल १ हजार २ सय ९२ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू बाढीबाट प्रभावित भएका छन्।
बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही केन्द्रहरू पुनः सञ्चालनमा आइसकेका छन् भने प्रसारण टावर तथा मुख्य संरचनामा क्षति पुगेका आयोजनाहरू सुचारु गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको छ।
उत्पादनतर्फ प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। आयोजनाको टर्वाइन फ्लोरमा बाढीको पानी पसेकाले सफाइ गरी पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने देखिएको छ। यद्यपि स्वीचयार्ड सामान्य रहेकाले चार्ज गरिसकिएको छ।
यस्तै, कुश्मा-दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल सात वटा जलविद्युत केन्द्रको १९० मेगावाट विद्युत प्रवाह अवरुद्ध भएको छ।
राहुघाट सबस्टेसनमा जोडिएका आयोजनाहरूमध्ये राहुघाट बाहेक अन्य १२७ मेगावाट विद्युत सञ्चालनमा आउन सक्ने अवस्थामा छ। हाल राष्ट्रिय प्रणालीबाट बाहिर रहेका कुल आठ वटा आयोजनाको क्षमता २३० मेगावाट छ।
यसैबीच, सेती तथा मादी करिडोरमा अवरुद्ध भएका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाटका आयोजनाहरू पुनः सञ्चालनमा आइसकेका छन् भने १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी छ।
प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको २२० केभी लाइनअन्तर्गत म्याग्दीको दाना-कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढी र पहिरोले सडक अवरुद्ध पारेका कारण क्षतिग्रस्त संरचनाहरूको पूर्ण विवरण संकलन गर्न टोलीलाई कठिनाइ भइरहेको छ।
बाढीले विभिन्न क्षेत्रका जलविद्युत आयोजनाहरूमा ठूलो प्रभाव पारेको छ। कुश्मा-दाना क्षेत्रमा निलगिरी-१ (३८ मेवा), निलगिरी-२ (७१ मेवा), मिस्त्री खोला (४२ मेवा), थापाखोला (१३.६ मेवा), रेले खोला (६ मेवा) र घलेम्दी (५ मेवा) को उत्पादन रोकिएको छ भने घारखोला (१४.८ मेवा) तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको छ।
लाइनको समस्याले अपर राहुघाट (४८.५ मेवा), राहुघाट मङ्गले (३५.५ मेवा), ठूलोखोला (२१.३ मेवा), माथिल्लो ठूलोखोला (२२.५ मेवा) र राहुघाट (४० मेवा) समेत प्रभावित भई यस क्षेत्रमा कुल ३५८.२ मेगावाट उत्पादन अवरुद्ध भएको छ।
यसैगरी, त्रिशूली करिडोरमा रसुवागढी (१११ मेवा), साञ्जेन (७८ मेवा), माथिल्लो त्रिशूली ३ए (६० मेवा), तल्लो साञ्जेन (४२.५ मेवा), त्रिशूली (२४ मेवा), प्राधिकरण सोलार (२५ मेवा), चिलिमे (२२.१ मेवा), लाङटाङ (२० मेवा), माथिल्लो साञ्जेन (१४.८ मेवा), माथिल्लो मैलुङ (१४.३ मेवा), देवीघाट (१४.१ मेवा) र मैलुङ खोला (५ मेवा) गरी कुल ४३०.८ मेगावाट प्रभावित भएको छ।
मर्स्याङ्दी करिडोरमा मिडल मर्स्याङ्दी (७० मेवा), मर्स्याङ्दी (६९ मेवा) र अपर मर्स्याङ्दी (५० मेवा) गरी १८९ मेगावाट, पोखरा क्षेत्रमा सुपर मादी (४४ मेवा), अपर मादी (२५ मेवा), मादी खोला (२९ मेवा), सिक्लेस (१२ मेवा) र नामार्जुन (११ मेवा) गरी १२१ मेगावाट प्रभावित भएका छन्।
कालीगण्डकी करिडोरमा १४४ मेगावाट, मोदी क्षेत्रमा मिडल मोदी (१८ मेवा) र तल्लो मोदी-१ (१० मेवा) गरी २८ मेगावाट तथा समुन्द्रटार क्षेत्रमा माथिल्लो तादी (११ मेवा), तादी थप्रेक (५ मेवा) र तादी खोला (५ मेवा) गरी २१ मेगावाट क्षमताका आयोजनामा बाढीको प्रत्यक्ष असर परेको छ।
वितरण लाइनतर्फ वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, रुकुम पूर्व, मुस्ताङ, प्युठान, रोल्पा र मनाङमा विद्युत सेवा अवरुद्ध भएको थियो। तीमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा लाइन सुचारु भइसकेको छ भने मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म तथा मनाङमा भोलिसम्ममा आपूर्ति पुनः सुरु गर्ने योजना छ।
क्षतिका बाबजुद आगामी सुक्खायाममा विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउन प्राधिकरणले आवश्यक रणनीति तय गरेको छ। उक्त सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २ सय १८ मेगावाट मात्र विद्युत उपलब्ध हुने अनुमान छ।
सो अभाव पूर्ति गर्न भारतबाट विभिन्न प्रसारण विन्दुमार्फत कुल १ हजार १ सय ५४ मेगावाट विद्युत आयात गरिनेछ। जसमा ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ६०० मेगावाट, बिहार र यूपीका विभिन्न विन्दुबाट ३५० मेगावाट, द्विपक्षीय आरटीसी सम्झौतामार्फत १५० मेगावाट र टनकपुर-महेन्द्रनगर विन्दुबाट ५४ मेगावाट आयात गर्ने कार्ययोजना छ।
आयातसहित सुक्खायाममा कुल उपलब्ध विद्युत क्षमता २ हजार ३ सय ७२ मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ। जुन अघिल्लो वर्षको उच्चतम पिक माग २ हजार २ सय ९२ मेगावाटभन्दा बढी हो।
यसबाहेक पिक समयमा माग व्यवस्थापनका लागि १३२ केभी लाइनअन्तर्गत रक्सौल, सम्पत्तिया, टनकपुर र रामनगर विन्दुहरूबाट थप २५१.४ मेगावाटसम्म अस्थायी रूपमा आयात गर्न सकिने विकल्पसमेत खुला राखिएको छ।
प्रकाशित: १२ आश्विन २०८३ १६:२९ सोमबार





