हुम्लाको चंखेली गाउँपालिकाको नेप्का गाउँमा मंगलबार राति परेको असिनासहितको भीषण वर्षापछि आएको बाढी पहिरोले व्यापक भौतिक क्षति पुर्याएको छ।
घटनापछि हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वमा गएको जिल्लाको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।
स्थानीयका अनुसार अचानक आएको लेदोसहितको बाढीले गाउँको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले भिमसिंह तामाङको गोठभित्र राखिएका ५३ वटा भेडा मरेका छन्, जसले स्थानीय पशु पालक किसानलाई ठुलो आर्थिक क्षति पुर्याएको छ।
त्यस्तै, भिमसिंह तामाङ र लालबहादुर तामाङका दुई घरमा आंशिक क्षति पुर्याएको छ। डाँफे आधारभूत विद्यालयको संरचनामा समेत क्षति पुगेको छ भने करिब १५ रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा बगाएको स्थानीयले बताएका छन्।
गाउँको विद्युत् उत्पादनका लागि प्रयोग हुँदै आएको पावर हाउसमा समेत सामान्य क्षति पुगेको छ।
घटनापछि स्थलगत अनुगमनका लागि पुगेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शङ्कर खड्काले बाढीले ठुलो भौतिक क्षति भए पनि मानवीय क्षति नभएको पुष्टि गरेका छन्।
उनका अनुसार आकस्मिक रूपमा आएको बाढीका कारण संरचना र कृषि जमिनमा बढी असर परेको हो।
दुर्गम भौगोलिक अवस्था, सडक पहुँचको अभाव र निरन्तर खराब मौसमका कारण क्षतिको विस्तृत विवरण सङ्कलनमा ढिलाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ जेष्ठ २०८३ १८:४६ बुधबार





