२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

हाइसको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

नेपालगन्जको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट शुक्रबार एक बालकको मृत्यु भएको छ ।  

स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।  

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए ।  

यसैबीच, यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको भन्ने गुनासो आएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित: २० चैत्र २०८२ १८:४८ शुक्रबार