१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

पाँच हजार पाँच सय कैदी अझै फरार

गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भागेका १५ हजार बन्दीमध्ये पाँच हजार पाँच सय ३७ जना अझै फिर्ता नआएको केन्द्रीय कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागमा मंगलबारसम्म देशभरबाट प्राप्त विवरण अनुसार फरार १४ हजार पाँच सय ५३ बन्दीमध्ये नौ हजार ११ जना फिर्ता आइसकेका छन्। भदौ २३ सम्म देशभरका कारागारमा ३० हजार ६ सय ४६ जना बन्दी रहेकोमा हाल २४ हजार तीन सय ९२ जना बन्दी छन्। तीमध्ये १० जनाको मृत्यु भएको हो।

देशका विभिन्न कारागारबाट बन्दी भागेलगत्तै विभागले असोज २० भित्र फिर्ता आउन अपिल गरेको थियो, तर अहिलेसम्म सबै बन्दी फिर्ता नआउनुले समस्या उत्पन्न भएको केन्द्रीय कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपनाले बताए।

उनका अनुसार दसैंपछि आउने क्रम जारी रहे पनि बाढीपहिरोका कारण समयमा आउन नसकेको हुन सक्ने न्यौपानेले बताए  तर दसैंलगत्तै आउने क्रम बढेकाले अबको केही दिनमा थप बन्दी आउने सम्भावना देखिएको बताए।

सूचना पाएर पनि फरार बन्दीको हकमा ७७ वटै जिल्लामा कार्यदल गठन गरी फरार बन्दी खोजी अभियान जारी रहेको बताए। यो अभियानअनुसार जिल्ला प्रमुख अधिकारी, सरकारी वकिल, कारागार प्रमुखसहितको कार्यदल बनेको छ। कार्यदलले स्थानीय तहसँग समन्वय गरेर बन्दीको खोजी गरी फिर्ता ल्याउने पहल गर्ने छ।

सूचना पाएर कारागार फिर्ता नआउने बन्दीको हकमा कारागार ऐन २०७८ अनुसार कारबाही हुने निर्देशक न्यौपानेले बताए। उनका अनुसार कारगारमा गरेको अपराधको तहअनुसार कारागार प्रमुखले प्रतिवेदन तयार गर्ने, प्रतिवेदनमाथि अनुसन्धान गरी त्यसअनुसार थप कारबाहीको व्यवस्था हुने छ

 कारगारको नियम उल्लंघन गरेमा पूर्व सजायबाहेक थप तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना, पाँच वर्ष जेल सजाय र ५० हजार जरिवाना र पाँच वर्ष जेल सजाय तथा पाँच लाख रुपैयाँ जरिवानाको व्यवस्था छ। कारगारको ऐन तथा सूचना उल्लंघन गर्ने बन्दीको हकमा यो सजाय लागू हुने न्यौपानेले जानकारी दिए।

प्रकाशित: २२ आश्विन २०८२ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App