चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा करिब पाँच सय जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आवेदन दिएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनका लागि भने ८० जनाले आवेदन गरेका छन्। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार चालु आवको असोज महिनामा ९८ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराएको भन्दै खोजीका लागि आवेदन गरेका छन्। चालु आवमा राष्ट्रिय परिचयपत्रको रुजु फारम हराएको भन्दै खोजीका लागि आवेदन दिनेको संख्या ४ सय ९१ रहेको प्रशासन कार्यालयले जनाएको छ।
असोज महिनामा मात्र २५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनका लागि आवेदन दिएका छन्। असोज मसान्तसम्म्मा २ हजार ७६७ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराएको प्रशासन कार्यालयले जनाएको छ। असोज महिनामा ५ सय १७ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराएका छन्।
प्रशासन कार्यालयले चालु आवमा १ सय ८५ थान राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरेको छ। चालु आवमा नागरिकता लिने भन्दा प्रतिलिपी लिनेको संख्या बढ्दै गएको छ। चालु आवको असोज महिनासम्ममा ७ सय ५४ थान नागरिकताको प्रतिलिपी जारी हुँदा नागरिकता लिनेको संख्या भने ७ सय ४ मात्र रहेको प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिए।
चालु आवमा जन्मको सन्तानलाई वंशजको नागरिकता, वैवाहिक अंगीकृत नागरिकता र गैर आवासीय नेपाली नागरिकता भने जारी भएको छैन। द्रुत र साधारण गरी प्रशासन कार्यालयले चालु आवको असोज मसान्तसम्ममा ६ सय २४ थान राहदानीको सिफारिस गरेको छ भने ५ सय ६८ थान राहदानी वितरण गरेको छ।
प्रशासन कार्यालयले १ सय ९३ वटा राहदानीको अनलाइन फारम निःशुल्क भरिदिएको छ। असोज महिनामा प्रशासन कार्यालयको नागरिक सहायता केन्द्रबाट २ सय ७ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न किसिमका कागजातहरूको प्रतिलिपि निःशुल्क उपलब्ध गराउने सेवा प्रदान भएको प्रशासन कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा प्रशासन कार्यालयमा भ्रष्टाचार, नाफाखोरी र अन्य मुद्दा दर्ता भएनन् भने अभद्र व्यवहारका ८ वटा मुद्दा दर्ता भएकोमा ४ वटालाई किनारा लगाईएको समेत प्रशासन कार्यालयले जनाएको छ।
प्रकाशित: ३ कार्तिक २०८२ १२:२६ सोमबार





