२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा जुवा ताससहित पाँच पक्राउ, ४७ हजार नगद बरामद

बाँकेको खजुरा गाउँपालिका–४ डि गाउँमा जुवा तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्। प्रहरीका अनुसार राति करिब २ बजेतिर दिनेश शाहीको बोइलर कुखुरा पालन गर्न बनाएको टहरोभित्र हारजित हुने गरी जुवा तास खेलिँदै गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।  

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार खेल भइरहेको जुवा खालबाट नगद ४७ हजार ३० र तासका ४६ गड्डी बरामद गरिएको छ। बाँके जानकी गाउँपालिका–५ का ४० वर्षीय कृष्ण चौधरी, खजुरा गाउँपालिका–३ का ३२ वर्षीय शैलेन्द्र कुमार मिश्र, सोही गाउँपालिका ४ का ३६ वर्षीय गोपाल बुढा क्षेत्री, सोही ठाउँका ४६ वर्षीय आशिष गुरुङ र बर्दिया बढैयाताल गाउँपालिका–३ का ५० वर्षीय राजेश गुरुङलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार चारजना फरार छन्।  

जुवा खेल्न प्रयोग गरिएको टहरो जिल्ला प्रहरी कार्यालय बाँकेदेखि करिब ३ किलोमिटर पूर्व–उत्तर दिशामा पर्ने धनौली इलाका प्रहरी कार्यालय क्षेत्रअन्तर्गत रहेको बताइएको छ। जिल्ला प्रहरी प्रमुख अंगुर जिसीका अनुसार समाजमा बढ्दो जुवातास र सट्टेबाजीले अपराध र घरेलु हिंसा बढाउने जोखिम रहेको भन्दै प्रहरी निरन्तर निगरानीमा रहेको छ।  

उनले भने, ‘जुवातासजस्ता अवैध क्रियाकलापले पारिवारिक र सामाजिक वातावरण बिगार्ने भएकाले प्रहरी सचेत रूपमा नियन्त्रणमा जुटेको छ।’ उनका अनुसार पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा यस्ता गतिविधि बढेकाले प्रहरी नजिकैको समुदायसँग सहकार्य गरेर नियन्त्रण गर्ने रणनीति लिइएको छ।

प्रकाशित: २५ आश्विन २०८२ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App