यातायात व्यवस्था कार्यालय बाँकेमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आवश्यक पर्ने मेडिकल चेकसम्बन्धी निरोगिताको प्रमाणपत्र वितरण प्रक्रियामा अनियमितता भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यातायात सेवा प्रवाहसँग जोडिएका बिचौलिया गतिविधि र अनधिकृत सहजीकरणविरुद्ध विभिन्न ठाउँमा प्रहरी कारबाही हुँदै आएको छ।
प्राप्त सूचनाअनुसार सेवाग्राहीले मेडिकल परीक्षणका लागि चिकित्सकको प्रत्यक्ष परीक्षणबिना नै प्रमाणपत्र पाउने व्यवस्था मिलाइएको र त्यसका लागि प्रति प्रमाणपत्र दुई सय रुपैयाँ लिने गरिएको भन्ने उजुरीपछि कार्यालयबाट खटिएको सादा पोसाकको टोलीले अनुसन्धान थालेको हो।
नियन्त्रणमा पर्नेमा नेपालगञ्जस्थित एक निजी अस्पतालमा कार्यरत बताइएका चिकित्सक डा. नागेश्वरप्रसाद साह, नेपालगञ्ज–१८ बस्ने सङ्गीता गिरी, निजी फार्मेसी सञ्चालन गर्दै आएका डा. मनोजकुमार यादव, सन्तोष सिंह ठकुरी र शिव वैश्य रहेका छन्।
प्रारम्भिक सूचनाअनुसार सेवाग्राहीको नाम र ठेगाना भरेर चिकित्सकको प्रत्यक्ष संलग्नताबिनै निरोगिताको प्रमाणपत्र वितरण गरिएको आशंका गरिएको छ। घटनाबारे थप प्रमाण संकलन, संलग्न व्यक्तिको भूमिका तथा सेवा प्रक्रियामा कुनै संस्थागत कमजोरी थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
यातायात सम्बन्धी सेवा प्रवाहमा पारदर्शिता र सेवाग्राहीमैत्री प्रणाली कायम गर्न सरकारले समय–समयमा अनुगमन र कारबाही गर्दै आएको छ।
प्रकाशित: ५ असार २०८३ ०७:०१ शुक्रबार





