२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

रक्तसञ्चार केन्द्र बागलुङलाई १४ लाखको आर्थिक सहयोग

बागलुङको रक्तसञ्चार सेवालाई सहज र प्रभावकारी बनाउन अमेरिकामा रहेका बागलुङेहरुले १४ लाख बढी सहयोग गरेका छन् । आईतबार एक कार्यक्रमकाबीच रक्तसञ्चारका लागि अमेरिकाबाट प्राप्त १४ लाख पाँच हजार ८ सय ६६ रुपैयाँबाट किनिएको जेनेरेटर र रक्तदान कुर्ची हस्तान्तरण गरिएको छ ।  

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, धौलागिरि अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद लगायतको उपस्थीतिमा उक्त सामग्री रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरे ।

अमेरिकाबाट प्राप्त रकममध्ये ९ लाख ५० हजारको जेनेरेटर र १८ हजार रुपैयाँका दुइ वटा रक्तदान कुर्ची खरिद गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका मन्त्री भवानी प्रसाद कँडेलले बताए । ‘हामीलाई रक्तसञ्चार केन्द्रका लागि जेनेरेटर निकै आवश्यक थियो, बागलुङमा विद्युत गइरहने समस्या र पहिलेको सानो व्याकअपले अहिलेको संरचनालाई नधान्ने भएपछि हामीले झेल्दै आएका थियौं,’ उनले भने,‘अमेरिका पुग्नुभएका बागलुङे साथीहरुको सहयोगबाट यो समस्या समाधान भएको छ । अहिले सामग्री खरिद गरेर बचेको रकम व्यवस्थापकीय काममा लगाउने सहमति भएको छ ।’

विगत एक वर्षदेखिको सम्पर्क र सम्बन्धबाट अहिले सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्यले बताए । ‘उहाँहरुले तपाईहरु नआत्तिनुस् हामी अलि ठूलो रकम सहयोग गर्छौं भन्नुभएको थियो,’आचार्यले भने,‘यहाँ हामीलाई अहिले नै समस्या परेको र रेडक्रसको अवस्थामा पनि केन्द्रमा विघटन भएर तदर्थ समिति बनेको छ । जिल्लाको समिति पनि बिघटन भयो भने हामीले गरेको मेहनत खेरा जान्छ भनेर जतिसक्दो छिटो सहयोग गर्न भन्यौं । ३७ जनाबाट सहयोग जुटाएर अहिले हामीलाई यो सहयोग गर्नुभएको छ ।’  

बागलुङ सेवा समाज अमेरिकाका अध्यक्ष गौरीश्वर शर्मा, भूमिश्वर सापकोटा, कुलानन्द शर्माको विशेष सक्रियतामा यो सहयोग जुटेको आचार्यले सुनाए । नेपालमा गरिएको विभिन्न सहयोग दुरुपयोग हुने गुनासो र दीगोपन नहुने गरेका कारण पछिल्लो समय सहयोग जुटाउन कठिन हुने गरेको बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले बताए ।

प्रकाशित: १४ असार २०८३ २०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App