साउनको चौथो तथा अन्तिम सोमबार र बोलबम यात्रालाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा पाँचौँ साताको सरसफाइ अभियान सम्पन्न गरिएको छ। पशुपति क्षेत्र विकास कोषले शनिबार मन्दिरका मुख्य ढोका, प्रवेश मार्ग तथा वरपरका क्षेत्रमा सरसफाइ गरेको हो।
भुवनेश्वरी मन्दिरअघिबाट सुरु भएको सफाइ अभियान इट्टापाखा, जयवागेश्वरी, सुन्धारा र भण्डारखाल क्षेत्रसम्म सञ्चालन गरिएको कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए।
साउन २५ गते पर्ने सोमबार दर्शनार्थी र बोलबम यात्रीको अत्यधिक घुइँचो हुने भएकाले मन्दिरको सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।
बोलबम यात्रीलाई वासुकी क्षेत्रबाट प्रवेश गराई मूल मन्दिरको उत्तर ढोकाबाट जल चढाउने विशेष व्यवस्था मिलाइएको भण्डारीले बताए। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ राख्ने चेतना अभिवृद्धिका लागि कोषले पाँच साताअघिदेखि यो अभियान सञ्चालन गर्दै आएको छ।
सफाइ अभियानमा कोषका सदस्यसचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ, कोषका सञ्चालक परिषद् सदस्यहरू, कर्मचारी, स्थानीय सङ्घसंस्था, स्थानीयवासीका साथै प्रहरी पहरा गणलगायत तीनवटै सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
तिथिको भिन्नता र बाँकी तयारी
सौरमासअनुसार यो वर्ष साउनका तीन वटा सोमबार (साउन ४, ११ र १८) सम्पन्न भइसकेका छन् भने साउन २५ गते चौथो सोमबार परेको छ।
अर्कोतर्फ, चान्द्रमासअनुसार साउन १८ गते पहिलो सोमबार सुरु भएको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असार अन्तिम साता अस्त भएको बृहस्पति साउन २६ गते उदय हुँदैछ। सोही कारण चान्द्रमास मान्ने भक्तजनका लागि बाँकी दुई सोमबार पनि पशुपतिनाथमा दर्शनार्थीको बाक्लो उपस्थिति रहनेछ।
प्रकाशित: २३ श्रावण २०८३ २०:०३ शनिबार





