१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम

पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्केखोला खोजी अभियानअन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो । जेठ १० बाट सुरु भएको अभियानअन्तर्गत फिर्केखोला खोलाघरमा बनेका एक सय ६० वटै संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ। अतिक्रमणको चपेटामा परेको करिब आठ किलोमिटरको फिर्केखोलामा नापजाँचपश्चात् गाडिएका पाँच सय ८८ वटा सीमास्तम्भभित्र परेका सबै संरचना भत्काइएको दाबी महानगरको छ।

महानगरले सबै संरचना भत्काएको बताए पनि स्थायी संरचना भने आंशिक रूपमा मात्रै भत्काएको पाइएको छ । महानगरले गत वर्ष बनाएको प्रतिवेदनमा ४५ वटा स्थायी र एक सय १५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएको उल्लेख छ। त्यसमध्ये अस्थायी संरचना पूर्णरूपमा भत्काएको पाइएको छ भने स्थायी संरचनामध्ये अधिकांश आंशिक मात्रै भत्काएको छ। खोलाघरमै बनेका १८ वटा र मापदण्ड मिचेर बनाइएका ३५ वटा स्थायी संरचनामा महानगरले डोजर चलाए पनि पूर्णरूपमा नभत्काई छाडेको छ। कतिपय घरधनी आफैंले भत्काउने शर्तमा छाडिएको छ भने कतिपय भौगोलिक जटिलताका कारण त्यसै छाडेको पाइएको छ।

पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरुषोत्तम थापाले अस्थायी संरचना पूर्णरूपमा हटाइएको र स्थायी संरचना आंशिक हटाइएको बताए। ‘फिर्केमा संरचना हटाउने अभियान सम्पन्न भयो’, उनले भने, ‘अस्थायी संरचना पूर्ण रूपमा हटायौं, अब आंशिक हटाएर बाँकी रहेको संरचना घरधनी आफैंले हटाउनुहुनेछ।’

महानगरले लिटिल स्टेप मावि, लिंकन कलेज, ज्ञानबहादुर कोइरालालगायतका घरका संरचना आंशिकरूपमा भत्काएर छाडेको हो। ती भवनमा महानगरले प्रयोग गरेको डोजरले ठाउँठाउँमा प्वाल पारेर त छाडेको छ तर पूर्णरूपमा भत्काएर नफाल्दा यसको सौन्दर्यकरण अभियानको गति रोकिने आशंका गरिएको छ।

अर्कातर्फ महानगरले डोजर लगाएर भत्काएका भवनका सामग्री तथा डोजर हिँड्दा निस्केको माटो असरल्ल छाडिएका छन्; जसले फेवाताल पुरिने जोखिम बढेको छ । किनकि फिर्केको अन्तिम गन्तव्य फेवाताल भएकाले यसबिचमा ठूलो वर्षा भएमा त्यहाँ असरल्ल छाडिएका सामग्री फेवातालमा पुग्ने निश्चित छ । उसो त पहिल्यैदेखि नै फिर्केबाट बगेर जाने माटो र फोहोरले फेवातालमा टापु बनाएको छ । त्यसमाथि अहिले भत्काएका सामग्री असरल्ल छाडिँदा त्यसमा मलजल हुने नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताए।

उनले भने, ‘यो पहिल्यैदेखिकै समस्या हो । अहिले भत्काइएका सामग्रीको पनि व्यवस्थापन नभए फेवातालमा फिर्केले बनाएको फोहोरको टापु थप बढ्ने पक्का छ।’

यसबारे प्रश्न उठेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केका भत्काइएका सामग्री र माटो बगाएर फेवातालमा नपुगोस् भनेर फेवातालभन्दा माथि नै अस्थायी चेकड्याम बनाउने सामाजिक सञ्जालमार्फत जनाएका छन् । विदेश भ्रमणमा रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले फिर्केखोला खोजीका क्रममा निस्केको माटो तथा अरू सामग्री व्यवस्थापन गर्ने काम सुरु भएको छ । अहिले हटाइएका माटो बगेर फेवाताल नपुगोस् भन्नाका लागि गाईघाटमा अस्थायी चेकड्याम बनाउने काम तुरुन्तै सुरु गरिने छ।’

तर मेयर आचार्यले भनेजस्तो चेकड्याम बनाउने काम तत्काल हुने सम्भावना भने देखिएको छैन । किनभने यसका लागि महानगरले तयारी नै सुरु गरेको छैन । चेकड्याम निर्माणबारे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अनभिज्ञता प्रकट गरे। चेकड्याम बनाउने भनेर आफू आउनुभन्दा अगाडि नै निर्णय भएकाले त्यसबारे आफूलाई थाहा नभएको उनको भनाइ छ । ‘बनाउनका लागि बजेट त छुट्ट्याइएको छ’, उनले भने, ‘तर कहिले बन्छ, कहाँ बन्छ र कहिले थालिन्छ भन्नेबारेमा थाहा भएन।’

सहरी विकास तथा पर्यटन महाशाखा प्रमुख विमल कार्कीले पनि चेकड्याम बनाउने भनिए पनि कहिले बनाउने भन्नेबारेमा आफूलाई जानकारी नभएको बताए । ‘यसको जिम्मेवारी मलाई छैन’, उनले भने, ‘यसबारे अध्ययन नै भएको छैन । पहिले अध्ययन गर्नुपर्छ । खोलाघर हेरेर माटो र फोहोर कहाँ थिग्रिन्छ, त्यसलाई लोकेट गरेर बनाउनुपर्छ।’

महानगरका पूर्वाधार निर्माण महाशाखा इन्जिनियर शिशिर अर्यालले पनि अस्थायी चेकड्याम निर्माणबारे जानकारी नभएको बताए । पोखरा– ४ र ५ को सिमानामा पर्ने फिर्केपुलनजिक पोखरा– ७ मासवारस्थित मुख्यमन्त्री कार्यालयनजिक र पोखरा– १७ गाईघाटमा स्थायी चेकड्याम बनाउने भनेर भनिएको उनको भनाइ थियो। उनी भन्छन्, ‘अस्थायीबारे जानकारी भएन, सायद अर्कै समिति बनाएर काम भइरहेको होला।’

नागरिक समाज पोखराका संस्थापक अध्यक्ष पौडेल भने चाँडोभन्दा चाँडो अस्थायी चेकड्याम बनाउनुपर्ने बताउँछन्। ‘तयारी नै नगरी हतारमा काम गरेजस्तो भयो’, उनले भने, ‘फिर्केखोला खोज्ने र त्यहाँ रहेका संरचना भत्काउने काम राम्रो हो, तर भत्काइएपछि निस्किएका सामग्री र माटोको व्यवस्थापन पनि गरिहाल्नुपर्छ । नत्र त्यो बगेर फेवातालमा पुग्ने र पुरिने खतरा रहन्छ।’

पहिला चेकड्याम बनाएर भत्काउन सुरु गर्नुपर्नेमा अहिले भत्काइसकेपछि पनि नबनाउनु लापरबाही भएको उनले टिप्पणी गरे । ‘विरोधका लागि विरोधजस्तो हुन्छ र मनोबल घट्छ कि भनेर हामी चुप छौं’, उनले थपे, ‘अहिले हेर्दा त देखाउनका लागि कस्मेटिक मात्रै काम भयो । हामी पनि प्रश्न गर्छौं: कहिले बन्ने हो मेयरज्यू अस्थायी चेकड्याम ? हामीलाई बताइदिनूस्।’

फिर्केखोला साबिक ग्यारजाति, पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका– १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ। फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाइसम्म फराकिलो भएर फैलिएको पाइएको छ। खोलाको उचाइ चारदेखि नौ मिटरसम्मको गहिराइ रहेको उनले बताए।

प्रकाशित: १८ जेष्ठ २०८३ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App