चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको सहयोग तथा समन्वयमा वीरेन्द्रनगरको बसपार्क र घण्टाघरमा चियापानसहित सुरक्षा सचेतना तथा सुझाव संकलन कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा एक हजार पाँच सयभन्दा बढी यात्रु तथा स्थानीय नागरिक सहभागी भएका थिए ।
कार्यक्रममा चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा सावधानीबारे नागरिकलाई जानकारी दिनुका साथै उनीहरूका समस्या, गुनासा र सुझावसमेत संकलन गरिएको थियो । सार्वजनिक यातायातमा हुने भीडभाड, यात्रुको आवतजावत तथा चोरी र ठगीजस्ता सम्भावित घटनाबाट नागरिकलाई सुरक्षित राख्ने विषयमा छलफल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले चाडपर्वका बेला यात्रु तथा स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरिएको बताए । नागरिकका सुझाव र गुनासाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मानव बमले चियापानसँगै नागरिकले सुरक्षा निकायका प्रमुखहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको बताए । चाडपर्वमा देखिन सक्ने सुरक्षा समस्या पहिचान गरी समाधानका उपाय खोज्न नागरिक र सुरक्षा निकायबीचको अन्तरक्रियामा सहयोग तथा समन्वय गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जय राज सापकोटा, कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति तथा सांसद पूर्णबहादुर चालिसे, प्रमुख जिल्ला अधिकारी महेन्द्रप्रसाद सापकोटा र सशस्त्र प्रहरी बलका बाहिनीपति प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकलगायतको सहभागिता थियो ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सार्वजनिक स्थानमा चोरी, ठगी तथा अन्य सुरक्षा जोखिम हुन सक्ने भएकाले सुरक्षा निकायले नागरिकसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिएको छ । सार्वजनिक स्थलमै पुगेर गरिएको संवादले नागरिकका समस्या बुझ्न र चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: ३० आश्विन २०८३ १६:४३ शुक्रबार





