२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

उद्योग वाणिज्य महासङ्घद्वारा शान्ति कायम गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रुपमा रहनुका साथै तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख गरेको छ।

कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा महासङ्घले व्याख्या गरेको छ। महासङ्घले जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ। साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गर्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महासङ्घले विज्ञप्तिमा मार्फत् उल्लेख गरेको छ।

प्रकाशित: १४ श्रावण २०८३ १८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App